• १३ साउन २०८१, आइतबार

छ हजारभन्दा बढी क्यान्सर रोगी थपिए

blog

चितवन समाचारदाता

चितवन, असोज १० गते । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गत एक वर्षमा अस्पतालमा उपचार गराउन आएकामध्येमा छ हजार ६३ जना नयाँ क्यान्सरका रोगी थपिएको जानकारीदिएको छ। 

२३औँ वार्षिकोत्सव तथा १८औँ क्यान्सर सर्तकता दिवसको अवसरमा आइतबार अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा हरेक वर्ष क्यान्सरका बिरामी थपिँदै गएको जानकारी दिएको हो। क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। डेजकुमार गौतमले गत एक वर्षमा नयाँ ओपीडी सेवा २५ हजार ४४६ जनाले लिएको जानकारी दिनुभयो।

पुरानो बिरामीले उपचार लिइराखेका छन् त्यसमा गत एक वर्षमा अस्पतालमा आएका बिरामीमध्ये छ हजार ६३ जना नयाँ क्यान्सरका रोगी थपिएका छन्, डा। गौतमले भन्नुभयो। क्यान्सर रोग लाग्नुको कारण र यसबाट बच्ने उपायको बारेमा सर्वसाधारणलाई व्यापक रूपमा जानकारी गराउन सकेका रोग लाग्नबाट बच्न सकिने डा। गौतमले बताउनुभयो। 

कार्यक्रममा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा। निर्मल लामिछानेले नेपालमा मात्रै हरेक वर्ष २८ हजारदेखि ३० हजार जना क्यान्सरका नयाँ रोगी थपिने गरेको जानकारी दिनुभयो। क्यान्सर रोगीहरू अझै समाजमा रहे पनि परीक्षणको अभावमा सङ्ख्या बाहिर आउन नसकेको उहाँले जानकारी दिनुभयो। 

क्यान्सर अस्पतालले रोगीको उपचारसँगै रोग लाग्नबाट बच्नका लागि सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। 

महिलामा हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बच्नका लागि किशोरी र बालिकालाई निःशुल्क खोप लगाउने गरिएको भन्दै डा। लामिछानेले विद्यालयमा गएर गत वर्ष मात्रै ११ देखि १३ वर्ष उमेरका छ हजार बालिकालाई क्यान्सरविरुद्धको खोप लगाएको जानकारी दिनुभयो। 

एउटा खोपको शुल्क चार हजार रुपियाँ पर्दछ। एक जना बालिकालाई दुई पटक लगाउनुपर्ने त्यस्तो खोप १२ हजार लगाइएको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो। ११ देखि १३ वर्ष उमेरका बालिबालिकाले अस्पतालमा आएर लगाउन चाहेमा खोप लगाउने व्यवस्था गरिएको छ। 

अझै पनि सुर्तीजन्य पदार्थबाट हुने क्यान्सरका बिरामीको सङ्ख्या अन्यभन्दा धेरै रहेको अस्पतालले जनाएको छ। फोक्सोमा हुने क्यान्सरको प्रतिशत उच्च रहेको जानकारी दिएको छ। अस्पतालमा आएका क्यान्सरका बिरामीमध्ये १४।१० प्रतिशत फोक्सोमा लाग्ने क्यान्सरका बिरामी, पाठेघरमा लाग्ने क्यान्सरका बिरामी १२।३४ प्रतिशत र स्तनमा हुने क्यान्सर १०.४७ प्रतिशत रहेको छ। साथै रक्त क्यान्सर, हड्डीमा हुने क्यान्सर, जिब्रोमा हुने क्यान्सरका बिरामी पनि उच्च रहेको अस्पतालले जनाएको छ। 

अस्पतालका अनुसार गएको एक वर्षमा चार हजार जनाको जटिल प्रकारको शल्यक्रिया, दुई हजार ९४३ जनाले रेडियोथेरापी र १४ हजार ७६१ जनाले डे केयर सेवा लिएका छन्। त्यस्तै, गरिब विपन्न तथा क्यान्सर रोग लागेबापत सङ्घीय सरकारले दिने प्रतिव्यक्ति एक लाख रुपियाँको सहयोग गत एक वर्षमा १६ करोड ७६ लाख ७९ हजार रुपियाँको सहयोग गरेको छ।