• १३ साउन २०८१, आइतबार

महोत्तरीवासी पर्यटन दिवस स्वागतको तयारीमा

blog

वर्दिवासको पौराणिक तथा पुरातात्विक महत्वको पञ्चधुरा माईस्थान मन्दिर । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, असोज ८ गते । सेम्टेम्वर २७ अर्थात् विश्व पर्यटन दिवस महोत्तरीमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिएको छ । आगन्तुकलाई भोजन र आवासमा भारी छुट दिने घोषणा पनि गरिएको छ । 

होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबासस्थित संस्कृति तथा पर्यटन  प्रवर्धन समितिले जिल्लामा पहिलो पटक पर्यटन दिवसलाई भव्यताका साथ मनाउन औपचारिक तयारी गरेको हो । 

४३ औँ पर्यटन दिवस मनाउन दुवै आयोजकले संयुक्त रूपमा कार्यतालिका सार्वजनिक गरेका छन् । दिवसको शुभारम्भ असोज १० गते अपराह्न बर्दिबासको निकटवर्ती धार्मिक स्थल पञ्चधुरा माईको मन्दिरबाट गरिने जनाइएको छ ।  

महोत्तरीको दक्षिणवर्ती भिट्ठामोड नाकाबाट नेपाल भित्रिने विदेशी आगन्तुकलाई प्रवेश बिन्दुमै खादामाला लगाएर स्वागत र मिठाई ख्वाएर सत्कार गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । आयोजकले भोजनमा १५ प्रतिशत र आवासमा २५ प्रतिशत छुट दिने जनाएको छ ।  

समारोहको दोस्रो दिन असोज ११ गते ‘सभ्यताको विकासमा पर्यटनको महत्त्व’ बारे जागरूकता अभिवृद्धि गर्न बर्दिबासमा र्‍याली र प्रभात फेरी आयोजना गरिनेछ । सोही दिन जिल्लाको समग्र जातजातिको भेसभुसा र संस्कृति झल्कने सडक महोत्सवको समेत तयारी गरिएको होटल व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष सुदीप कार्कीले बताउनुभयो ।

जिल्लाको मटिहानी, जलेश्वर, औरही र बर्दिबासमा धार्मिक, पौराणिक र पुरातात्त्विक महत्त्वका मठ मन्दिर भएकाले महोत्तरीले धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको छ । यी धर्मस्थल नेपाल–भारत ‘रामायण सर्किट’ अन्तर्गत पर्ने भएकाले विशिष्ट पर्यटकीय महत्त्व बोकेको बताइन्छ ।

‘पर्यटन महोत्सवको माध्यमले यी र यस्ता अन्य गन्तव्यको पहिचान र परिचय विस्तार गर्ने विश्वास लिएका छौ’ बर्दिबासस्थित संस्कृति तथा पर्यटन प्रवर्धन समितिका अध्यक्ष हीरा गौतमले बताउनुभयो ।