• १३ साउन २०८१, आइतबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

blog

जानू पाण्डे

कपिलवस्तु, असोज ८ गते । कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार शिवराज नगरपालिकामा भएको दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो । 

शनिबार बिहान पिकअप र मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०१–०२५ च ९२४४ नम्बरको पिकअप र विपरीत दिशाबाट आइरहेको लु. ५७ प ५८०३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा बाइक चालक अन्दाजी ४५ वर्षका चन्द्रमणी ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । त्यस्तै शिवराज नगरपालिका ३ मा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएको ३४ वर्षको बमबहादुर थापाको मृत्यु भएको हो ।

ससुराली घर आएका थापा छोरीसहित बिहान बाटो काट्नेक्रममा ट्रकले ठक्कर दिएको थियो । थापाको उपचारकालागि चन्द्रौटा लैजाँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनाबाट उहाँका तीन वर्षीया छोरी अनु थापाको खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते छोरी थापाको बुटवलमा उपचार भइरहेको छ ।