• १३ साउन २०८१, आइतबार

ग्रामीण महिला आङ खस्ने समस्याबाट पीडित

blog

निःशुल्क प्रजनन् शिविरमा स्वास्थ्य परीक्षणका लागि प्रतिक्षारत सहभागी महिला । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, असोज ५ गते । महोत्तरीका ग्रामीण महिला यौन रोग तथा प्रजनन् स्वास्थ समस्याबाट लामो समयदेखि पीडित छन् । परीक्षणका क्रममा स्थानीय महिला पाठेघर मुखको क्यान्सर, आङ खस्ने, यौनजनित रोग तथा अनियमित महिनाबारीजस्ता समस्याबाट पीडित रहेको चिकित्सकको भनाइ छ । 

बर्दिबास नगरपालिकाको आयोजना तथा लायन्स क्लव अफ बर्दिबासको सहकार्यमा भक्तपुर गट्ठाघरस्थित सामुदायिक सेवा प्रतिष्ठानले नगरपालिकाको वडा ११ खयरमारा र वडा १३ बिजलपुरामा सोमवार र मंलवार सञ्चालन भएको ‘निःशुल्क प्रजनन स्वास्थ्य शिविर’ मा जाँच गराएको महिलाका समस्या चिन्ताजनक देखिएको हो । 

प्रतिष्ठानका निरीक्षक (सुपरभाईजर) हरिहर उप्रेतीका अनुसार दुबै ठाउँको शिविरमा गरी ६३० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षण गराएकामध्ये ६० प्रतिशत महिलामा आङ खस्ने समस्या पाइएको हो । 

शिविरका स्त्री रोग विशेषज्ञ डा. दीपककुमार साहका अनुसार यसमध्ये थर्ड स्टेजका ५० जनालाई अप्रेसन नै गर्नुपर्ने देखिएको छ । खयरमारामा परीक्षण गरिएका १७० महिलामध्ये ७ जनामा पाठेघरको मुखको क्यान्सर पहिचान गरिएको छ । क्यान्सर देखिएका महिला २८ देखि ४८ वर्ष उमेर समूहका रहेको डा. साहले बताउनुभयो । 

त्यहाँका ४२ जना महिलामा आङ खस्ने समस्या पनि पाइएको छ  डा. साहले भन्नुभयो, “जसमध्ये १० जनालाई अप्रेसन गर्नुपर्ने र दोस्रो स्टेजका ७ जनालाई रिङ राख्नुपर्ने परीक्षण रिपोर्टमा उल्लेख छ । 

त्यस्तै, बिजलपुरामा ४६० महिलाको परीक्षण गर्दा २२२ भन्दा बढी महिलामा पाठेघर सङ्क्रमणको समस्या फेला परेको छ । यसमध्ये ४० महिला थर्ड स्टेज अर्थात् अप्रेसन गर्नुपर्ने अवस्थामा रहेको डा. साहले बताउनुभयो । ७ जनामा पाठेघरको मुखको क्यान्सरको सम्भावना पनि देखिएको छ । 

‘यो अवस्था अति नै भयावह हो’ डा. साहले भन्नुभयो ‘चिकित्सा सेवाको १८ वर्ष लामो अवधिमा महिला स्वास्थ्यको यति विकराल रुप अन्त देखिएन’ उहाँले भन्नुभयो । यसबाहेक १५ देखि ४९ वर्ष उमेरका महिलामा यौनरोग र १३ देखि २० वर्षका ५० प्रतिशतमा अनियमित महिनाबारी, पिसाबमा सङ्क्रमणजस्ता समस्या पाइएको छ ।

मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले ग्रामीण महिलामा देखापरेको प्रजनन स्वास्थ्य भयावह र सोचनीय भएको बताउनुभयो । उहाँका अनुसार यो सामाजिक आर्थिक र शैक्षिक समस्या हो । यसप्रति निर्देशनालय गम्भीर रहेको बताउनुभयो । 

निर्देशक झाका अनुसार राज्यले गर्भवती महिलालाई सरकारी स्वास्थ्य संस्थामा ४ पटक जाँच गराए बापत पटकैपिच्छे २०० रुपियाँ र सुत्केरी हुँदा एक हजार गरी एक हजार ८०० रुपियाँ प्रोत्साहन भत्ताको ब्यवस्था छ । बर्दिबास नगरपालिकाले नगर क्षेत्रका महिलाका लागि यो भत्तामा थप एक हजार दिने निर्णय गरेको छ ।