• १३ साउन २०८१, आइतबार

कोइलाबास पर्यटकीय गन्तव्य

blog

दिवाकर पोखरेल

देउखुरी, असोज ५ गते । नेपाल भारतसँग सीमा जोडिएको दाङको कोइलाबासमा आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड बढ्न थालेको छ। कोइलाबास नेपाली ग्राहकको पुरानो बजारले चिनिन्छ। 

लमही–कोइलाबास हुलाकी सडक निर्माण कार्य सम्पन्न भएपछि यहाँको आन्तरिक पर्यटक बढ्न थालेको हो। नेपालको पहाडी क्षेत्रको अवलोकनका लागि भारतीय नागरिकसमेत सो क्षेत्रमा आउने गरेका छन्। 

संरक्षणको अभावमा खण्डहर अवस्थामा रहेको संरचना र पुरानो बजारको अवलोकन लागि नेपालीहरू पनि कोइलाबास पुग्ने गर्छन्। उताबाट भारतीय नागरिक आउने गरेका छन्। दाङको लमही नगरपालिका वडा नं. ५ का गणेशकुमार चौधरी कोइलाबास ऐतिहासिक तथा पुरानो बजार भएकाले घुम्न आउने गरेको बताउनुहुन्छ। 

उहाँले भन्नुभयो, “बाउबाजेले नुनतेल खरिद गर्न जाने बजार पनि हो, बाजेको स्मरण सुन्दा आउने मन लागे पनि सडक अभावले समस्या थियो, अब सहज भएको छ।” भारत तुलसीपुर निवासी गुद्धु खान निरन्तर कोइलाबास भ्रमणमा आउनुहुन्छ। 

घुम्न आउने पर्यटकलाई दिनभर नै कोइलाबासमा रोक्न सक्ने हो भने स्थानीयवासीको आयस्रोतसमेत बढ्ने देखिएको छ। कोइलाबासमा दैनिक एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। 

गढवा गाउँपालिका–८, कोइलाबासका वडाध्यक्ष अब्दुल खालिक सिद्धिकीले वडा कार्यालयबाट गरिने लगानीले पर्यटन प्रवद्र्धनलाई नपुग्ने भन्दै माथिल्लो तहका सरकारलाई लगानीका आग्रह गर्नुभयो। 

भारतको लखनऊदेखि गोरखपुरसम्मका पर्यटक यहाँको भ्रमणमा आउने गरेका छन्। बहराइच, गोन्डा, बलरामपुर, सिद्धार्थनगर, गोरखपुरलगायत उत्तर प्रदेशका पर्यटकको रोजाइ बनेको छ । लमही–कोइलाबास सडक निर्माणले कोइलाबास भएर स्वर्गद्वारीसम्म पुग्ने पर्यटकहरू बढेका हुन्। गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेलले गढवा ऐतिहासिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने कामको सुरुवात भएको बताउनुभयो। कोइलाबासमा जनकपुरपछिको दोस्रो रामजानकीको मन्दिर पनि रहेको छ ।