• १९ पुस २०८१, शुक्रबार

साफ महिला च्याम्पियनसिप

‘नेपालको अर्जुनदृष्टि ट्रफी’

blog

फाइनलअघि ट्रफी सार्वजनिक गर्दै नेपाल र बंगलदेशका कप्तान । तस्बिर : गोरखापत्र

काठमाडौं, असोज २ गते ।  छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि सोमबार नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रङ्गशालामा साँझ ५:०० बजे सुरु हुने फाइनल खेलका लागि नेपाली टोलीको सम्पूर्ण तयारी पूरा भएको मुख्य प्रशिक्षक कुमार थापाले बताउनुभयो ।

‘‘हामी नौ सातादेखि एउटै लक्ष्यमा छौं । खेलाडी शारीरिक, मानसिक र प्राविधिक रुपले फाइनलका लागि तयार छन् । नेपालको एउटै अर्जुनदृष्टि ट्रफी हो । ट्रफी बाहेक हामीले केही देखेका छैनौं,’’ फाइनलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक थापाले भन्नुभयो । 

थापाले फाइनलमा बङ्गलादेशसँग विगतको नतिजालाई हेरेर नहुने र अहिलेको बङ्गलादेश प्राविधिक रुपले बलियो भएको बताउनुभयो । ‘‘इतिहासलाई हेरेर हुन्न । बङ्गलादेश प्राविधिक रुपले बलियो देखिन्छ । तर हामी पनि कम छैनौं । समूह चरणमा दुवै टोलीले शतप्रतिशत नतिजा निकालेका छौं । गोल खाएका छैनौं । घरेलु मैदान र दर्शकको साथमा हामी उपाधि घरमै राख्न चाहन्छौं । जसका लागि हाम्रो प्रदर्शन चुस्त र दुरुस्त हुनेछ । दर्शकको रापलाई हामी मर्न दिने छैनौं, इतिहास रच्न चाहेका छौं । उपाधि बाहेक केही सोचेका छैनौं,’’ थापाले भन्नुभयो ।

उहाँले टोलीका दुई तीन जना खेलाडीले फाइनलपछि सन्यास लिन चाहेकोले फाइनल खेल ती खेलाडीका लागि महत्वपूर्ण हुने बताउनुभयो । नेपाल र बङ्गलादेशबीच यसअघिको साफमा तीन पटक भेट भएको थियो । तीनै संस्करणमा नेपाल विजयी भएको थियो । इतिहास नेपालको पक्षमा भए पनि इतिहास हेरेर नबस्ने पनि थापाको भनाइ छ । 

यसैगरी नेपाली टोलीकी कस्तान एन्जिला तुम्बापो सुब्बाले फाइनलमा ‘हामी सक्छौं, हामी जित्छौं’ भन्ने मान्यताका साथ खेल्ने बताउनुभयो । ‘‘बोलेर भन्दा हामी खेरेर प्रमाणित गर्न चाहन्छौं । सेमिफाइनलमा सदाबहार प्रतिद्वन्द्वी भारतलाई हराएपछि सबै खेलाडीमा जोस बढेको छ । फाइनलमा कम गल्ती गर्दै बङ्गलादेशलाई हराउनेछौं । गोल नखाने र उपाधि जितेरै छाड्ने हाम्रो लक्ष्य हो,’’ सुब्बाले भन्नुभयो । 

बङ्गलादेशका प्रशिक्षक गोलोन रब्बानीले फाइनल खेल्नका लागि आफ्नो टोली तयार रहेको बताउनुभयो । ‘‘नेपाल बलियो टोली हो । घरेलु दर्शकको क्राउडले केही प्रभाव पार्न सक्छ । तर फाइनलका लागि हामीले फरक योजना बनाएका छौं । त्यही अनुसार खेल्नेछौं,’’ रब्बानीले भन्नुभयो । 

उहाँले आफ्नो टोली समूह चरणदेखि एउटै लयमा रहेकोले सोही लय कायम राख्ने पनि बताउनुभयो । ‘‘फाइनल खेल प्रतिस्पर्धात्मक हुनेछ । घरेलु टिमसँग खेल्नु सधैँ गाह्रो नै हुन्छ । तर हामी आफ्नो ‘कन्फिडेन्ट लुज’ गर्ने छैनौं । नयाँ च्याम्पियन बन्ने लक्ष्य बङ्गलादेशको छ,’’ रब्बानीले भन्नुभयो । 

कप्तान सविना खातुनले आफूहरु उपाधि जित्न आतुर रहेको बताउनुभयो । ‘‘अघिल्ला चार खेल खेल्दा हामी अभ्यस्त भइसकेका छौं । सबैले एउटै लयमा राम्रो खेलिरहेका छौं । नेपाल बलियो टोली हो । तर हामी सामना गर्न तयार छौं,’’ खातुनले भन्नुभयो ।

समूह चरण र सेमिफाइनलमा गरी चार खेल खेलेको बङ्गलादेशले २० गोल गरेको छ । समूह चरण र सेमिफाइनल गरी तीन खेल खेलेको नेपालले ११ गोल गरेको छ ।