• ११ असोज २०८१, शुक्रबार

विद्यालयको बाटैमा बित्छ चार घण्टा

blog

कविराज घिमिरे 

हिले, भदौ ३० गते  । सरकारले बर्सेनि सुलभ र सहज तरिकाबाट बालबालिकालाई शिक्षा उपलब्ध गराउन विभिन्न कार्यक्रम तथा नाराहरू तय गर्ने गरेको छ । ग्रामीण क्षेत्रका बालबालिकाका लागि ती नारा नारामै सीमित बन्ने गरेका छन्। उनीहरू घण्टौँ टाढाका विद्यालय धाएर शिक्षा लिन बाध्य छन्। 

धनकुटाको साँगुरीगढी गाउँपालिका–७, आस्कोटका अर्पण राई करिब दुई घण्टा टाढाको स्कुलबाट शिक्षा लिन बाध्य हुनुहुन्छ। उहाँ सोही वडाको महाभारतस्थित गोलखाडी माविको कक्षा–९ मा अध्ययनरत हुनुहुन्छ। दैनिक करिब चार घण्टाभन्दा बढी समय त उहाँको स्कुल आउन जानमै बित्ने गरेको छ। उहाँ सँगसँगै सोही गाउँबाट दैनिक करिब ३० जना विद्यार्थी विद्यालयको लागि दैनिक चार घण्टा धाउन बाध्य छन्। “नजिकै स्कुल छैन, त्यसैले दैनिक करिब चार घण्टा धाउन बाध्य छौँ,” राई भन्नुहुन्छ। बिहान उठेर स्कुल जान तयार पर्दा तथा बेलुकी अबेर घर पुग्ने भएकाले विद्यालयमा बाहेक घरमा पढ्ने समय नहुने उहाँको गुनासो छ।

करिब तीन सय विद्यार्थी रहेको सो विद्यालयमा आधाभन्दा बढी विद्यार्थी एक घण्टाभन्दा टाढाका आसकोट, हुटिटेन, खोरलुम्फु, सिंहखोला, छिनामचोकलगायत गाउँबाट धाउने गरेको विद्यालयले जनाएको छ। खासगरी कक्षा ६ देखि १० सम्ममा टाढाबाट धाउनेमध्ये सबैभन्दा बढी विद्यार्थी छन्। टाढाबाट आएका विद्यार्थी ढिला गरी विद्यालय आउने, थकाइ लाग्ने छिट्टै भोकाउने तथा छिट्टै विद्यालय छाड्नेजस्ता समस्या भएकाले पठनपाठनमा समस्या हुने गरेको छ। 

टाढाबाट धेरै विद्यार्थी आउने गरेकोले पढाइ प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक हरिलाल शाह बताउनुहुन्छ। “खासगरी टिफिन पछाडिको कक्षा लिने टाढाका विद्यार्थी धेरै नै कम हुन्छन्। उनीहरूले घरको समस्याले भाग्ने गरेका छन् जसले गर्दा पढाइसमेत प्रभावित हुने गरेको छ” शाह भन्नुहुन्छ। 

यो विद्यालय र यहाँका विद्यार्थी त प्रतिनिधि पात्र मात्र हुन्। धनकुटासहित पहाडी र हिमाली क्षेत्रका अधिकांश बालबालिका घण्टौँको बाटो हिँडेर शिक्षा लिन बाध्य छन्। हिउँदमा विद्यार्थी घर आइनपुग्दै झमक्क साँझ पर्ने तथा बर्खामा पहिरो, खोला बाढीका कारण अभिभावकको मनमा आफ्ना बालबालिका घर आइनपुगुञ्जेलसम्म डर रहिरहने गरेको अभिभावकको गुनासो छ। विभिन्न समस्या हुँदा हुँदै पनि नजिकै विद्यालय नहुँदा टाढाका विद्यालयमा विद्यार्थी शिक्षा लिन बाध्य हुने गरेको धनकुटाको साँगुरीगढी गाउँपालिका–७ का अभिभावक धर्मध्वज राई बताउनुहुन्छ।  

विद्यार्थीको यही समस्यालाई मध्यनजर गर्दै विद्यालय नक्साङ्कन गर्ने र नक्साङ्कनकै आधारमा सबैलाई सहज हुने गरी नयाँ विद्यालय खोल्ने तथा विद्यालय थप्दै लैजाने नीति लिएको शिक्षा विकास तथा समन्वय एकाइ धनकुटाले जनाएको छ। यसैका लागि केही वर्षअघिबाट कार्य भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ धनकुटाका प्रमुख मोहन राईको भनाइ छ। अहिलेसम्म भने नक्साङ्कनको कार्य हुन नसकेको राईको भनाइ छ।