बाबुराम शर्मा
चरीकोट, भदौ २७ गते । दोलखाको भीमेश्वर नगरपालिका–५, पीपलबोट घुम्तीमा निर्मित ज्येष्ठ नागरिक भवनले यहाँका स्थानीय ज्येष्ठजनलाई आकर्षित बनाएको छ । मनका पिरमर्कालाई बिर्सिएर मन बहलाउने थलोका रूपमा विकसित हुनथालेपछि भवनप्रति ज्येष्ठजन आकर्षित हुनथालेका भन्दै ९१ वर्षीया विष्णुमाया खड्काले खुसी व्यक्त गर्नुभयो ।
“लक्का जवान माहिलो छोरो हराएर अहिलेसम्म पत्तो लागेको छैन । श्रीमान् पनि बितेपछि एक्लै भएको अनुभवले सताउँछ”, उहाँले भन्नुभयो, “जेठो र कान्छो छोराले राम्रै गरे पनि यो उमेरमा एक्लै हुनुपरेको दुखेसो यो भवनमा आएपछि बिर्सन्छु । मन बहलाएर मनोरञ्जन गर्न पाएकोमा धेरै खुसी छु । बाँचिरहे हरिया बुटा देख्न पाइन्छ भन्थे, हो रहेछ ।”
भारतको ३६ वर्षको नोकरीपछि अहिले घरमा बस्न बाध्य हुनुभएका ८५ वर्षीय वृद्ध पदमबहादुर खड्काले भन्नुभयो, “बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि’ भन्ने उक्ति जीवनमा साबित भएको छ । तीन छोरा बाहिर छन् । सकिनसकी घर थेग्नुपरेको छ । दिन प्रतिदिन कमजोर हुँदै छु । श्रीमती पनि उस्तै । भएको बारी बाँझै छ । सकिन्न के
गर्नु ? छोराहरूले कहिले त खर्चसम्म पनि पठाउँदैनन् । मन बहलाउन यहाँ आउने गरेको छु । यहाँ बसुन्जेल सबै पीर बिर्सिन्छु ।”
मनोरञ्जनका लागि मादल, हार्मोनियम, भ्mयाली, बाँसुरीलगायतका बाध्य सामग्री छन् । भजन कीर्तनलगायत टेलिभिजन पनि राखिएको छ । जसलाई जे इच्छा हुन्छ, त्यही प्रयोग गरिन्छ । सीप हुनेले वाद्यवादकको काम गर्ने र अरूले गाउने–नाच्ने गरेर मजा लिइरहेका हुन्छन् । यी सबै क्रियाकलाप हुँदा अर्कै संसारको अनुभव हुने ८३ वर्षीय तेजबहादुर कार्कीको अनुभव छ । नजिकका ज्येष्ठजन बिहानदेखि बेलुकासम्म पनि बस्नुहुन्छ । अलि टाढाका भने बिहान र दिउँसो आएर मनोरञ्जन गरिरहनुहुन्छ । ३०÷४० जना जमघट हुने, विचार आदानप्रदान गर्ने थलोका रूपमा यो भवन बनेको छ । हाम्रा लागि यस्ता स्थान बन्नुले देशमा लोकतन्त्र गणतन्त्र आएको अनुभूति भएको ७६ वर्षीय कृष्णबहादुर खड्काले व्यक्त गर्नुभयो ।
पूर्ववडाध्यक्ष रामचन्द्र बस्नेत र स्थानीय समाजसेवी कृष्णबहादुर खड्काको विशेष पहलमा भवन निर्माण सम्पन्न भएको हो । इन्डोनेसिया, कतार, मलेसियालगायतका थुप्रै देशमा बसेर कमाएको अनुभवले सेवाको भाव पलाएर भवन निर्माणमा जुटेको खड्काले बताउनुभयो ।
“यसलाई दिगो रूपमा सञ्चालन गर्न कसरी सकिन्छ भनेर सोचिरहेको छु”, निर्माण समितिको अध्यक्षसमेत रहनुभएका खड्काले भन्नुभयो, “अहिले आफैँले सञ्चालन खर्च बेहोरिरहेको छु । ७६ लाख रुपियाँमा निर्मित भवनको पहिलो तला ज्येष्ठजनका लागि प्रयोग भएको छ । दोस्रो तलामा पढ्न चाहने इच्छुकका लागि पुस्तकालय स्थापना गर्ने सोच छ । अन्तिम तलामा ज्येष्ठजनका लागि र अरूलाई समेत लक्षित गरी कफी पसल सञ्चालनमा ल्याउन तरखर भइरहेको छ । यसलाई व्यावसायिक बनाएर सञ्चालन खर्च जुटाउन सके दिगो हुने अपेक्षा गरिएको छ ।”