• १३ साउन २०८१, आइतबार

अझै जस्ताको टहरामा पठनपाठन

blog

चरीकोट समाचारदाता

चरीकोट, भदौ २७ गते । कक्षा ४ मा अध्ययनरत समीक्षा जिरेल बिहान ८ बजे नै विद्यालय जान तयार हुनुहुन्छ । उहाँलाई विद्यालय पुग्न करिब डेढ घण्टा लाग्छ । बर्खायाममा दिउँसो कक्षा चलिरहेको बेला पानी पर्दा शिक्षकले पढाएको विद्यार्थीले नसुनेपछि आजभोलि दिनहुँजसो पढाइ रोकिने गरेको छ । 

२०७२ को भूकम्पपछि पठनपाठनका लागि जस्ताको अस्थायी टहरो बनाइएको थियो । नयाँ भवनको आशामा रहेका जिरी माविका विद्यार्थी अझै तिनै टहरामा बसेर पढ्न बाध्य छन् ।

भूकम्पले २०१७ सालमा बनेको जिरी नगरपालिका–६ स्थित जिरी माध्यमिक विद्यालयको भवन भत्किएको सात वर्ष बितिसक्दा पनि नयाँ भवन नबन्दा पढाइमा बाधा पुगिरहेको छ । कक्षा १२ सम्म पढाइ हुने सो विद्यालयमा ६६५ जना विद्यार्थी अध्ययनरत छन् ।

भूकम्पपछि विद्यालयमा अतिरिक्त क्रियाकलाप हुन छाडेको छ भने शौचालय पनि व्यवस्थित छैन । चीन सरकारले दुई वर्षअघि भवन निर्माण गर्ने सम्झौता गरे पनि हालसम्म भवन निर्माणका लागि जगसमेत खन्ने काम सुरु नभएको विद्यालयका प्रधानाध्यापक कुमार जिरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झौताअनुसार हाम्रोतर्फबाट गर्ने विद्युत् जडान, खानेपानी योजना निर्माण र निर्माणस्थलमा बाँकी रहेका केही भवन हटाउने काम भइसकेको छ ।”

शिक्षा मन्त्रालयमार्फत भवन निर्माणका लागि पहल भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पानी पर्दा जस्ता बजेर दिनहुँ कक्षा अवरुद्ध हुन्छ । विद्यार्थीका लागि खेल मैदान छैन । बर्खायाममा  दिनहुुँ विद्यार्थी विद्यालय आइपुग्दा हिलाम्मे भएर आइपुग्छन् । भवनकै अभावमा विद्यार्थीका लागि शिक्षण सिकाइ क्रियाकलाप गर्न सकिएको छैन, उहाँले भन्नुभयो । जस्ताका टहरामा पठनपाठन गर्दा चिसो मौसममा विद्यार्थीलाई जस्ताको चिसो र गर्मीमा जस्ता तात्ने र हावाहुरी लागेर पठनपाठन प्रभावित हुँदै आएको उहाँले बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष कृष्णमाया बुढाथोकीले भन्नुभयो, “विद्यालयमा भवन निर्माण गर्न शिक्षा मन्त्रालयसँग निरन्तर पहल गरिरहेका छौँ । चिनियाँ पक्षले कोरोना महामारीको कारण देखाउँदै भवन निर्माण सुरु गर्न नसकेको बताउँदै आएको छ ।” पछिल्लो पटक सम्पर्क गर्दा एक महिनाभित्र निर्माण सुरु गर्ने आश्वासन दिएको उहाँको भनाइ छ ।