• ८ मंसिर २०८१, शनिबार

किन मिल्न दिइएन बीपी र महेन्द्रलाई ?

blog

विश्वेश्वरप्रसाद कोइरालाले एक सन्दर्भमा भन्नुभएको छ– राजा महेन्द्र र म एकआपसमा मिल्न सकेनौँ। मिल्न दिइएन। अर्को एक सन्दर्भमा उहाँले फेरि भन्नुभएको छ– म राष्ट्रवादी मात्र भएको भए पनि सधैँ प्रधानमन्त्री हुने थिएँ र प्रजातन्त्रवादी मात्र भएको भए पनि सधैँ प्रधानमन्त्री हुने थिएँ। 

बीपीका यी भनाइले सन्देश र सत्यको सङ्केत गर्छन्। जस्तो कि उहाँ र राजा महेन्द्रलाई एकापसमा किन र कसले मिल्न दिएन ? बीपी राष्ट्रवादी मात्र भएको पनि सधैँ प्रधानमन्त्री हुनुहुने थियो। प्रजातन्त्रवादी मात्र भएको भए पनि सधैँ प्रधानमन्त्री हुनुहुने थियो। राष्ट्रवादी र प्रजातन्त्रवादी भएर बाँच्नु नेपालको सन्दर्भमा कति कठिन सत्य रहेछ ? आफू र बीपी मिल्न नसकेको वा नपाएको सत्य राजा महेन्द्रलाई पनि अन्तरबोध थियो तर किन महेन्द्रले यस्तो कोर्स सच्याउन सक्नुभएन ? यस्तो अवसर राजा महेन्द्र र नेता बीपी दुवैलाई थियो तर दुवै चुक्नुभयो। यस्तो अवस्थाका लागि राजा बढी जिम्मेवार देखिन्छन् किनभने राजनीतिको तालाचाबी राजामा थियो। महाभारतको लडाइँमा जस्तो बीपीले त पाँच गाउँ मात्र माग्नुभएको थियो, दिने ठाउँमा जो छ, द्वन्द्वका लागि पहिलो जिम्मेवार त्यही हुन्छ। 

राजा महेन्द्र र बीपीमा अविश्वसनीय उतारचढावयुक्त सम्बन्ध भयो। एकतिर राजा महेन्द्रको पाहुना भएर पोखराको रत्न मन्दिरलगायत दरबारमा बीपीलाई रानी रत्नले आफैँले काटकुट गरेको तरकारी पकाएर खुवाउने, बीपी र सुशीलालाई पटकपटक राजाले घर (दरबार)मा निम्ता गर्ने, राजा महेन्द्र, जो बीपीलाई प्रधानमन्त्री बनाउनु नेपालको प्रतिष्ठा उँचो पार्नु हो भन्नेमा सहमत हुनुहुन्थ्यो, अर्कोतिर राजा महेन्द्रद्वारा २०१७ को काण्ड गरेर लामो समय बीपीलाई जेलमा मात्र राखिएन, प्रजातन्त्रलाई निषेध गरियो। यस्तो जटिल र अपरिभाषित सम्बन्ध उहाँहरूमा किन थियो ? नेपाली राजनीतिक शास्त्रका विद्वान्ले अनुसन्धान गरेका छैनन्, केवल अनुमान मात्र इतिहास वा विचार सार्वजनिक गरेका छन्। 

मूलतः राजा महेन्द्र र बीपीमा व्यक्तित्व टकराव, नेहरूको कुटिलता, राजा र राजपरिवारका अन्य सदस्यसँग बीपीको विशेष सम्बन्धका कारण उहाँहरू दुई जना मिल्न नसकेकाजस्ता अनुमान सार्वजनिक भएका छन्। यसलाई इतिहास लेखनको मोनोग्राफिक प्रवृत्तिको आँखाबाट मात्र पढ्नुपर्छ। यस्ता इतिहास आफैँमा पूर्ण हुँदैनन्। यसबारेमा सामाजिक–वैज्ञानिक (सोसियो–साइन्टिफिक) तरिकाले अध्ययन गरिनुपर्छ। बीपी र राजा महेन्द्रका बारेमा यस्तो इतिहास लेखिएको छैन, जो अपेक्षित छ। 

राष्ट्रवादी र प्रजातन्त्रवादी हुँदा बीपीले राजनीतिमा पाउनुभएको हण्डर नै उहाँको सफलता र प्राप्ति पनि हो। हण्डर नखाएका कुन प्रधानमन्त्री बीपीजत्तिको लोकप्रिय छन् र नेपालमा। बीपी राष्ट्रवादीसँगै राष्ट्रियतावादी पनि हुनुहुन्थ्यो। बहुदलवादी अर्थात् प्रजातन्त्रवादीसँगै बहुलवादी पनि हुनुहुन्थ्यो। बीपीलाई यी सबै पक्षमा संयोजन गर्न समस्या थियो। किनभने राष्ट्रियतावादी हुनुहुँदा बीपीले मोटोलाई भन्दा जनतालाई ‘देश’ भन्नुभयो। उहाँका विरोधीले यहीँनेर बीपीलाई अराष्ट्रिय तत्व भन्ने मौका पाए।

नेपालीको बुझाइको चेतनास्तर पनि यति उन्नत थिएन कि “एउटा तानासाहले देशको सीमा र माटोलाई मात्र राष्ट्रियता देख्छ तर एउटा असली प्रजातन्त्रवादीले देशलाई माटो र सीमामा मात्र होइन, जनतामा देख्छ।” सायद बीपी समयभन्दा धेरै अघि जन्मनुभयो। अर्थात् अन्धकार जनचेतनास्तरको युगमा, जसले उहाँलाई गलत तरिकाले (मिसअन्डरस्टुड) बुझियो। जनताको बुझाइ क्षमता नै योभन्दा माथि थिएन। 

भारतीय नागरिकले काठमाडौँमा घर किन्न लाग्दा बीपीले भन्नुभयो– यो प्रक्रिया हाम्रो कानुनसम्मत पनि छैन, अर्को कुरा नेपालका धेरै खहरे भारतमा गएर समुद्रमा मिसिँदा समुद्रमा कुनै परिवर्तन हुँदैन तर अलिकति समुद्र फर्केर नेपालका खहरेमा मिसियो भने नेपाल डुब्छ। त्यसैले उसले नेपालमा घर किन्न सक्दैन। इजराइलसँग द्वौत्य सम्बन्ध, सगरमाथाको सवाल, सिक्किम र तिब्बतबारेका भनाइ आदिमा बीपी विचार हेर्नुपर्छ, उहाँ कति राष्ट्रवादी हुनुहुन्थ्यो तर नेपालको राजसंस्था आफूलाई मात्र राष्ट्रियताको प्रतीक मान्दथ्यो। कांग्रेस र बीपीलाई सधैँ अराष्ट्रिय तìव भनेर प्रजातन्त्रमा राजसंस्था अन्तरघुलित हुन सकेन। 

पटकपटक फालिएको बेलायतको राजतन्त्रले संसद् र जनताको बललाई स्वीकार गर्दै प्रजातन्त्रमा आफूलाई अन्तरघुलन गर्न सक्यो र आजपर्यन्त गरिमामयी राजसंस्थाको इतिहास बचाउनु सफल भएको छ। नेपालमा राजसंस्था नभएर राजतन्त्र बनाउन खोजियो र सक्रिय राजनीतितिर हात फैलाइयो। प्रजातन्त्रमा अन्तरघुलन हुन चाहेन हाम्रो राजतन्त्रले। यसमा ठूलो कमजोरी राजा त्रिभुवनदेखि ज्ञानेन्द्रसम्म छ। 

आफूलाई अमानवीय यातना दिने, प्रजातन्त्र खोज्ने राजाहरूलाई पनि बीपीले एउटा शक्ति भन्दै आउनुभयो। राजा र प्रजातन्त्र मिलेरै अगाडि जानुपर्छ भन्दै आउनुभयो। यसो भनेबापत राजवादीले अब बीपी पञ्चायत छिर्छ। बीपी पञ्चायतपरस्त भएका छन् भनेर बुझे। बुझाइयो। पञ्चभन्दा अलिक भिन्न स्वर तर त्यही आसयमा कम्युनिस्टले बीपीलाई दरबारसँग आत्मसमर्पण ग-यो भने। 

बीपी विचारसँग नजिक भएकै कारण कम्युनिस्ट संस्थापक पुष्पलाल श्रेष्ठलाई ‘गद्दार’ भनियो। केसरजङ्गलाई राजावादी बुझियो। यसो नभएको भए राजसंस्थामा पनि प्रजातन्त्र अटाउन सक्थ्यो। ज्योति बसुले पश्चिम बङ्गालमा जस्तो प्रजातन्त्रभित्र वामपन्थको अभ्यास गर्न सकिन्थ्यो। प्रजातन्त्रको खुकुलो दायरामा सबैखाले राजनीतिक अभ्यास र शक्ति अटाउन सक्थे, सक्छन्। बीपी र राजा महेन्द्र नमिल्नाले यस्तो अवसर नेपालले गुमायो। बीपीले चाहेर पनि राष्ट्रियता र प्रजातन्त्रलाई अन्तरघुलित (मिल्टिङ वा डाइलुट) गराउन सक्नु हुन्थेन पनि। राजा महेन्द्रले चाहेका भए मात्र यसो गर्न सक्थे। जो भएन। 

बीपीले राजाको अन्त्य कहिल्यै कल्पना गर्नुभएन। भन्नुहुन्थ्यो– राजाले छोराका लागि श्रीपेच बचाउन मात्र सके भने पनि नेपालको राष्ट्रियता बलियो हुन्छ। पछिल्लो नेपाली राजनीतिले राजतन्त्र र राजसंस्थालाई भिन्न अस्तित्वमा बुझ्न सकेन। राजा पनि ‘देखिने सुनिने, बोल्ने र नबोल्ने’ राजाजस्ता भ्रममा परे। अहिले पनि आमनेपाली प्रजातन्त्रमा सबैखाले विचार तथा शक्ति अटाउन सक्छन् र अटाउनुपर्छ भन्ने ठूलै तप्का नेपाली समाजमा छ भनरे व्याख्या गर्नेहरू छन्। यस सन्दर्भमा राजतन्त्र र राजसंस्थालाई भिन्न गर्न नसक्दाको परिणाम देश र जनता कसरी भोग्दैछन् वा भोग्नेछन् भनेर मूल्याङ्कन गर्नुपर्ने बेला आएको छ।   

अहिले पनि केही नेताका क्रियाकलाप, भ्रष्टाचार, राजनीतिक विसङ्गति र दलीय लुटखसौट छ भन्दै यसको विकल्पमा राजा आउनुपर्छ भन्ने एउटा झिनो तप्का नेपाली राजनीतिमा छ। उनीहरू पात्र र पद्धति कहाँ समस्या छ भन्न सकिरहेका वा चाहेका छैनन्। उनीहरूले के बुझ्नुपर्छ भने राजा एक्लैले यस्तो रोगको उपचार गर्न सक्दैनन्, जनताको साथ चाहिन्छ। जनता स्वभावैले प्रजातन्त्रवादी हुन्छन्, किनभने मानिस स्वतन्त्रता रुचाउने प्राणी हो। नेपालमा विगतको जस्तो राजतन्त्रको सपना कोरा कल्पना मात्र हुनेछ तर बीपीले भन्नुभएको “राष्ट्रियताको सवालमा मेरो र राजाको घाँटी जोडिएको छ” भनाइ सन्दर्भहीन भएको छैन। विश्वयुद्ध र शीतयुद्धपछि अहिले विश्व नयाँ ध्रुवीकरणमा जाँदै छ। 

दोस्रो विश्वयुद्धपछि युरोपबाट राजनीतिको विश्व शक्ति अमेरिकामा स्थानान्तरण भएको हो। अहिले अमेरिकाबाट आफूतिर त्यस्तो शक्ति ल्याउन चीनले पूर्वाधारका रूपमा आर्थिक विकासलाई तीव्रता दिँदै आएको छ। यो अवस्था निकै चुनौतीपूर्ण छ। करिब यस्तो विश्व दृश्य देखेर राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी भारतबाट नेपाल फर्कनुभएको थियो, करिब त्यस्तै अवस्था अहिले पनि देखिएकाले सबै शक्ति अटाउने राजनीतिले नेपालको हित गर्नेछ। राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी नेपाल फर्कंदा उहाँलाई केही पक्षले आत्मसमर्पण गरेको भनेका थिए। सबै शक्ति अटाउनुपर्छ भन्दा राजसंस्थाको पक्षपोषण भन्ने बुझाइ पनि हुनसक्छ तर नेपालको सत्य यही हो कि कुनै पनि शक्तिले अर्को शक्ति वा सत्यलाई उपेक्षा गरेर देशको उन्नति हुने छैन।