• १३ साउन २०८१, आइतबार

‘सिजन’ पर्खाइमा पोखरा

blog

सन्तोष सुवेदी

कास्की, भदौ २४ गते । कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन । महामारी सकिएसँगै विदेशी पर्यटक आउने क्रम बढे पनि अहिले पर्यटन क्षेत्रको ‘अफ सिजन’ले गर्दा पर्यटकको चहलपहल कम छ ।

केही समय भारतीय पर्यटकको आगमन भए पनि तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा सुधार आउन सकेन । यो तेस्रो मुलुकका पर्यटकका लागि ‘अफ सिजन’ हो । अहिले भारतीय पर्यटक केही आउने गर्छन् भने आन्तरिक पर्यटकले पोखराको पर्यटन क्षेत्रलाई निकै थेगेको छ । 

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बर्खाको समय भएकाले पोखरामा पर्यटकको चहलपहल नभएको बताउनुभयो । “अहिले त होटलको अकुपेन्सी १० प्रतिशत मात्र छ, शनिबार र बिदाको दिन २५ प्रतिशत जति अकुपेन्सी हुने गरेको छ । दुई–तीन हप्तापछि बल्ल सिजन सुरु हुन्छ,” उहाँले भन्नुभयो । 

उहाँका अनुसार अहिले भारतीयभन्दा आन्तरिक पर्यटकको सङ्ख्या बढी छ । तेस्रो मुलुकबाट आउने पर्यटक पनि धेरैथोरै आइरहेको उहाँले सुनाउनुभयो । “बर्खा सकिएपछि टे«किङको सिजन सुरु हुन्छ । दशैँतिहारपछि पर्यटन क्षेत्रको उत्साह बढ्नेछ । बुकिङ पनि सेप्टेम्बरपछिका लागि अलिअलि भइरहेको पनि छ,” सुवेदीले भन्नुभयो । 

कोरोना महामारीको अर्को लहर आएन भने सुस्ताएको पोखराको पर्यटन पुनः पहिलेको अवस्थामा आउने आशामा पोखराका पर्यटन व्यवसायी छन् । “नयाँ वर्षको बेलामा पर्यटकले गर्दा पोखराका होटल भरिभराउ थिए । आन्तरिकसँगै भारतीय पर्यटक पनि अहिले पोखरामा घुम्नका लागि आएका थिए तर अहिले बर्खाले गर्दा अलिक कम भएको छ,” उहाँले भन्नुभयो ।  कोरोना महामारीकै कारण २५ जना होटल व्यवसायी विस्थापन भइसकेको होटल सङ्घले जनाएको छ । पोखरामा ४२५ होटल सङ्घमा दर्ता भएका छन् । पोखरा र आसपासमा गरी एक हजार दुई सय होटल छन्, जसमा ३५ हजार शøया छन् । अध्यक्ष सुवेदीले भन्नुभयो, “४० हजार पाहुना पोखरा आए पनि थेग्न सक्ने क्षमता छ । लेकसाइड र ड्यामसाइड गरी सात सय होटल छन् ।”

सेप्टेम्बरपछिको बुकिङ बढ्दै

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाटा), गण्डकीका कोषाध्यक्ष राजेश पहारीले ‘अफ सिजन’ले गर्दा पर्यटन क्षेत्र सुनसान रहेको बताउनुभयो । “दुई महिना जति भयो, सुनसानजस्तै छ । सेप्टेम्बरपछिको बुकिङ भने राम्रो छ,” उहाँले भन्नुभयो । बङ्गलादेश र भारतका पर्यटकको बुकिङ राम्रो रहेको उहाँले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ पछि आन्तरिक पर्यटकले पोखराको पर्यटन क्षेत्र धानिएको बताउनुभयो । 

दैनिक एक सय प्याराग्लाइडिङ उडान

नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले बर्खाले गर्दा प्याराग्लाइडिङ उडानमा कमी भएको जानकारी दिनुभयो । “आठ–दस दिन जति भयो उडानमा कमी भएको छ । बर्खा सकिएपछि मौसम पनि सफा हुने भएकाले उड्न बढ्नेछ,” उहाँले भन्नुभयो । सिजनमा पाँच/छ सय उडान हुनेमा अहिले एक सयको हाराहारीमा मात्रै प्याराग्लाइडिङ उडान भइरहेको उहाँले बताउनुभयो । सराङकोट र तोरीपानीको टेकअफ एरियाबाट उडेर फेवाताल सिरान र चङ्खपुर क्षेत्रमा प्याराग्लाइडिङ अवतरण हुन्छ । अहिले प्याराग्लाइडिङका लागि आठ हजार रुपियाँ शुल्क तिर्नुपर्छ । कोरोना महामारीपछि ५० प्रतिशत छुटमा उडाइए पनि अहिले अवस्था सामान्य भएसँगै पूरै शुल्क लाग्ने भण्डारीले जानकारी दिनुभयो । 

कोभिड–१९ले गर्दा पर्यटन व्यवसाय ठप्प रहेको अवस्थामा प्रतिकूल समयसँग जुधेर भए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्याराग्लाइडिङ उडान गरिरहेको उहाँले सुनाउनुभयो । 

पोखरामा ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् । अहिले प्याराग्लाइडिङका लागि बुकिङ हुने क्रम बढेको भण्डारी बताउनुभयो । 

हावाहुरीले डुङ्गा चल्न गाह्रो

डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष बुद्धिबहादुर नेपालले वर्षा र हावाहुरीका कारण डुङ्गा चढ्न आउनेको सङ्ख्या कमी भएको जानकारी दिनुभयो । “अहिले त अफ सिजन, त्यसमाथि वर्षा र हावाहुरीले डुङ्गालाई अप्ठ्यारो पार्छ, वाराही घाटमा मुस्किलले दैनिक १५–२० वटा डुङ्गा चल्ने गरेका छन्,” उहाँले भन्नुभयो । फेवातालमा डुङ्गा चल्ने आठवटा घाटमध्ये वाराही घाटमा ३५६ वटा डुङ्गा छन् । पोखरा डुङ्गा व्यवसायी सङ्घका अनुसार आठवटा घाटमा गरेर फेवातालमा झन्डै साढे सात सय डुङ्गा सञ्चालन हुन्छन् ।