• १३ साउन २०८१, आइतबार

मालपोत र नापी यथावत् राख्न माग

blog

कलैया समाचारदाता

बारा, भदौ २४ गते । मालपोत तथा नापी कार्यालय यथावत् राख्न माग गर्दै तीन पालिकाका बासिन्दाले कामकाज अवरोध गर्दै सदरमुकाम कलैयामा जुलुस प्रदर्शन गरेका छन्। महागढीमाई नगरपालिका–९, सुवर्ण र देवताल गाउँपालिकाको सेवा सुविधाको कामकाज सिम्रौनगढ नगरपालिकाबाट सुरु गरेको विरोधमा सो सेवा पहिलाकै स्थानमा राख्न मालपोत कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म बुधबार नाराबाजी गर्दै दुई घण्टा प्रदर्शन गरिएको हो। 

महागढीमाई–९ का वडाध्यक्ष दीलिप शुक्लाको नेतृत्वमा मालपोत कार्यालयदेखि निस्केको जुलुसले कलैयामा मालपोत यथावत् राख्न माग गरेको थियो। 

जुलुसमा पुरुषभन्दा महिलाको सङ्ख्या अत्यधिक थियो। वडाध्यक्ष शुक्लाको अध्यक्षतामा सम्पन्न कोण सभामा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले पायकपर्ने ठाउँमा कार्यालय राख्नु साटो अर्को नगरपालिकामा मालपोत तथा नापी कार्यालय लैजाने निर्णय गलत रहेकाले पुनः सोही ठाउँबाट सेवा सुविधा प्रदान गर्नु राज्यको कर्तव्य रहेको बताउनुभयो। “नागरिकलाई सास्ती दिने होइन्, दबाब बिना माग पूरा नभएपछि जनताले आन्दोलन रोज्न बाध्य भएका हुन्। पहिलाको स्थान कलैयाबाट नै सेवा सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो। 

यसैगरी देवताल गाउँपालिकाका स्थानीय नेता रामचन्द्र चौधरीले यो कदम त्रुटिपूर्ण रहेकोले यसलाई सच्याएर पुरानै स्थानबाट सेवा दिनसम्बन्धित निकायलाई अनुरोध गर्नुभयो।