• १३ साउन २०८१, आइतबार

मिटरब्याजीविरुद्ध सत्तरी उजुरी

blog

कलैया समाचारदाता 

बारा, भदौ २४ गते । जिल्ला प्रशासन कार्यालय बारामा मिटब्याजीविरुद्ध ७० वटा उजुरी परेका छन्। गृह मन्त्रालयले उजुरी दिन सार्वजनिक सूचना आह्वान गरेसँगै जिल्ला प्रशासनमा पीडितले उजुरी दिएका हुन्। 

दर्ता भएका उजुरीमध्ये कलैयाबाट १२, जितपुरसिमराबाट नौ, महागढीमाईबाट नौ, सिम्रौनगढबाट छ, प्रसौनीबाट चार र बाँकी कोहल्बीलगायतका पालिकाबाट उजुरी आएको प्रशासन कार्यालयले जनाएको हो। जिल्लाको जितपुरसिमरा, कलैया, कोहल्बी, बरियारपुर, सिम्रौनगढलगायतका बजारमा मिटरब्याजीको बढ्दो चलखेल र अवैध कारोबार हुने गरेको प्रहरी अनुसन्धानले देखाएको थियो। मिटरब्याजका कारण कतिपय परिवारको उठीबास भएको छ भने, कतिपयले ज्यानसमेत गुमाएका छन्। लिएको पैसा पटक–पटक तिर्दासमेत ब्याज तिर्नमा नै सबै पैसा खेत बारी सिद्धिने गरेको छ।

साँवाको तीन/चार गुणाभन्दा बढी राखेर कागज बनाउने र पैसा लिने व्यक्तिले दिन नसके उसको घर खेत मिटरब्याजीले लिलाम गरी असुल उपर गर्ने गरेका छन्। यो क्रम गाउँदेखि सहरसम्म रहेको छ।  मिटरब्याजीविरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा दिनहुँ निवेदनपर्ने गरेको छ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भन्नुभयो, “यो क्रम अहिले चलिरहेको छ। दिनहुँ जसो मिटरब्याजीविरुद्ध निवेदन आउने गरेका छन्। यो सङ्ख्या अझै बढ्ने क्रम देखिएको छ। 

उनीहरूविरुद्ध सजायको लागि मोडालिटी तयार भइरहेको छ।” उहाँका अनुसार मोडालिटी तयार भएसँगै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र मन्त्रालय तीनैवटा निकायले छानबिन गरी दोषीलाई कारबाही गर्ने योजना छ। छिट्टै मुनाफाको लोभमा सीमाको तस्करी, पशु हाटबजार, भारतीय कपडाको तस्करी, जग्गा खरिद बिक्री, ढुकुटी, जुवा, नदीजन्य पदार्थलगायतमा मिटरब्याजमा कारोबार हुने गरेको छ।