• १३ साउन २०८१, आइतबार

अठार किलोमिटर सडक कालोपत्रे

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, भदौ २४ गते । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत प्रादेशिक सडक तथा सडकपुल कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा करिब १८ किलोमिटर सडक कालोपत्रे भएको छ । 

कार्यालयका अनुसार गत आवमा जिल्लामा प्रादेशिक सडक तथा सडकपुल आयोजनातर्फका २३३ वटा योजनामा ४४ योजनाको काम सम्पन्न भएको छ । गत आवमा १७ दशमलव ५४ किलोमिटर सडक कालोपत्रे, २४ दशमलव ६९ किलोमिटर कच्ची सडकको नयाँ ट्र्याक निर्माण र मर्मतसम्भार÷संरचना निर्माणका ४० किलोमिटर सडक पूरा गर्ने लक्ष्य लिएकोमा ३० किलोमिटर सडक मर्मतसम्भार÷संरचना निर्माण भएको थियो । यस्तै जिल्लाका विभिन्न स्थानमा ग्राभेल (खण्डास्मिथ) सडकअन्र्तगत ५० किलोमिटर सडकमा सब बेस स्तरको स्तरोन्नति गर्ने लक्ष्य लिइएकोमा २५ दशमलव ४५ किलोमिटर र २० किलोमिटर सडक नियमित मर्मतसम्भार/संरचना निर्माण गर्ने लक्ष्य लिएकोमा १५ किमि मात्रै काम सम्पन्न भएको थियो । 

यसैगरी गत आवमा पाँच किलोमिटर सडक ढलान गर्ने लक्ष्य लिएकोमा ७ दशमलव १९ किलोमिटर सडक ढलान भएको छ । २१ वटा सडक पुलको काम सुरु गरे पनि कुनै पनि योजनाको काम सम्पन्न नभएको कार्यालयले जनाएको छ । प्रादेशिक सडक (सङ्घ ससर्त अनुदान)तर्फका तीनवटा सडक आयोजनाको काम सम्पन्न भएको छ । सङ्घीय ससर्त अनुदानबाट जिल्लामा दुई किलोमिटर कच्ची सडकको नयाँ ट्र्याक निर्माण, ३० किलोमिटर सडक मर्मतसम्भार/संरचना निर्माण र छवटा सडक पुलको लक्ष्य लिएकोमा एउटा सडक पुलको काम सम्पन्न भएको कार्यालयले जनाएको छ । 

पूर्वाधार विकास कार्यालयमार्फत जिल्लामा प्रादेशिकतर्फ ३६९ योजना रहेकोमा ३४४ योजना सम्झौता भएकोमा २१६ योजनाको काम सम्पन्न र २५ वटा योजनाको विस्तृत परियोजना रिपोर्ट निर्माण नभएको तथा कार्यक्षेत्रमा विवाद भएको थियो । कार्यालयका अनुसार सङ्घीय ससर्त अनुदानतर्फका १४ योजनामा १३ योजना सम्झौता भएकोमा छवटा योजना सम्पन्न र एउटा कार्यक्षेत्र उपयुक्त नभएका कारण सम्झौता हुन सकेन । कार्यालयमा प्रादेशिक र सङ्घीय ससर्त अनुदानतर्फका गरी ३८३ योजनामा ३५७ योजना सम्झौता भएकोमा २२२ वटा योजना सम्पन्न भएको र २६ वटा योजनाको काम नपाएको पाइएको छ ।