• ११ असोज २०८१, शुक्रबार

धरानमा कोसीको पानी ल्याउन अध्ययन

blog

सचिन पोख्रेल

सुनसरी, भदौ २४ गते । धरानमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि चतराबाट सप्तकोसीको पानी ल्याउन अध्ययन सुरु भएको छ। खानेपानी मन्त्रालयद्वारा नियुक्त परामर्शदाता तथा विज्ञ टोली धरान आएर काम सुरु गरेको हो। 

टोलीले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङ, धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेललगायतको टोलीसँग परामर्श गरी काम थालेको छ।

टोलीमा मन्त्रालयले देशका विभिन्न नगरको पूर्वाधार विकासका लागि नियुक्ति गरेका परामर्शदाता नेपाली कम्पनी सिम्याट र भारतीय कन्सल्टेन्ट वेभकसका तर्फबाट परिचालित भारतीय तथा नेपाली प्राविधिक तथा विज्ञ छन्। टोलीले धरानको खानेपानीको दीर्घकालीन समाधानका लागि सप्तकोसीबाट पानी ल्याउन सक्ने सम्भाव्यता अध्ययन, अनुसन्धान र सर्भे सुरु गरेको प्रमुख साम्पाङले बताउनुभयो। 

उहाँले सप्तकोसी नदीको पानीले मात्र धरानका जनतालाई पुग्ने बताउँदै आउनुभएको छ। त्यसैलाई उहाँले आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनुभएको थियो। खानेपानी बोर्डका निर्देशक पोखरेलका अनुसार टोलीले चतराबाट प्रारम्भिक अध्ययन थालेको छ। विज्ञ टोलीमा परिचालित सिम्याट कम्पनीका डेपुटी टिम लिडर ओमसुन्दर श्रेष्ठका अनुसार छ जना भारतीय विज्ञसमेत रहेको टोलीले एक महिना लगाएर अध्ययन र सर्भेको काम गर्नेछ।

सप्तकोसी नदी र सर्दु खोलाबाट पानी सङ्कलन गरी भण्डारण गर्न निर्माण गरिने जलकुण्डको पनि टोलीले वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने र धरान नगर क्षेत्रको ढल तथा अन्य फोहोरजन्य सामग्रीको व्यवस्थापनसम्बन्धी अध्ययनसमेत गर्ने बताइएको छ। 

धरानवासीले लामो समयदेखि खानेपानीको चरम अभाव भोग्दै आएका छन्। खानेपानीको अभाव पूर्तिका लागि स्थानीयले महँगोमा ट्याङ्करबाट पानी किन्दै आएका छन्। धरान उपमहानगरपालिकाले पनि कतिपय अवस्थामा ट्याङ्करबाटै पानी वितरण गर्दै आएको छ। 

धरानमा रहेका निजी क्षेत्रका करिब एक दर्जन ट्याङ्करले तरहराको पानीपियाँस्थित जङ्गल क्षेत्रका साथै इटहरीबाट पानी ल्याएर वितरण गर्ने गरेको सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका निवर्तमान अध्यक्ष राजेन्द्र साह बताउनुहुन्छ। यस्तो अवस्थामा सप्तकोसीबाट पानी ल्याउने परियोजना सफल बनाउन निजी क्षेत्रले समेत सहकार्य गर्ने उहाँले बताउनुभयो।

धरान उपमहानगरपालिकाको कुल जनसङ्ख्या एक लाख ७४ हजार रहेको छ। यो जनसङ्ख्याका लागि धरानमा दैनिक दुई करोड ५० लाख लिटरभन्दा बढी पानी आवश्यक पर्छ तर अहिले भूमिगत स्रोतबाट करिब एक करोड ५० लाख लिटर पानी मात्र प्राप्त भइरहेको कार्यकारी निर्देशक पोखरेल बताउनुहुन्छ।

धरानमा करिब २८ हजार धारा जडान गरिएको छ। औसतमा प्रत्येक घरपरिवारलाई दैनिक आठ सयदेखि एक हजार लिटर पानी आवश्यक पर्छ। अहिलेको यो आवश्यकता पूरा गर्न दैनिक दुई करोड ५० लाख लिटरभन्दा बढी पानीको धरानमा माग देखिन्छ।

पानीको यो अभाव पूरा गर्न पञ्चायतकालदेखि गणतान्त्रिक शासन व्यवस्थाको अहिलेसम्मको अवधिमा विभिन्न तहबाट प्रयास नभएको पनि होइन तर अहिलेसम्म स्थानीय स्तरदेखि केन्द्रीय तहको सरकार र वैदेशिक क्षेत्रबाट समेत भएका प्रयास निरर्थक भएका छन्। खानेपानीका लागि अहिलेसम्म एसियाली विकास बैङ्कको ऋण तथा अनुदानसहित एक अर्ब ७४ करोडसमेत गरी करिब दुई अर्ब खर्च भइसकेको उपमहानगरपालिकाले जनाएको छ। खानेपानीका लागि यति ठूलो रुकम खर्च भए पनि समस्या भने ज्यूँका त्यूँ रहेको धरानका पुराना व्यवसायी मोहन मास्केको भनाइ छ। 

खानेपानी समस्या समाधानका लागि अगाडि सारिएको धरान खानेपानी आयोजना तथा नेपाल खानेपानी संस्थानलाई उपमहानगरपालिका मातहतको धरान खानेपानी व्यवस्थापन बोर्डमा समायोजन गरेर योजना अगाडि सार्दा पनि समस्या समाधान हुनुको साटो झन् बल्झेको पुराना बासिन्दा डिल्लीप्रसाद पोखरेलको भनाइ छ।