• ८ मंसिर २०८१, शनिबार

नवौं राष्ट्रिय खेलकुद

एनआरएनएको विजयी सुरुवात

blog

खेलअघि एनआरएनए टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ २३ गते । नवौँ राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत पुरुष क्रिकेट बिहिबार देखि काठमाडौंमा सुरु भएको छ । नवौँ राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने भएपनि उक्त सयमा नेपाल टी–२० लिग परेकाले क्रिकेट खेल अगाडि नै सञ्चालन गरिएको हो ।

कीर्तिपुर स्थित त्रिवि मैदानमा बिहिबार भएको उद्घाटन खेलमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हरायो । एनआरएनएले दिएको ७५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ६ ओभरमा ६ विकेटको क्षतिमा ६२ रन मात्र बनाउन सक्यो ।

वर्षाका कारण मैदान ओसिलो भएपछि ढिला सुरु भएको खेल ६ ओभरमा घटाइएको थियो । सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक १२ रन बनाउनुभयो । राजु रिजालले ११ र वसन्त खत्री १० रन बनाउनुभयो । 

बलिङमा एनआरएनएका आशिष् पोखरेल र दीपक क्षेत्रीले समान तीन तीन विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एनआरएनले ६ ओभरमा चार विकेटको क्षतिमा ७४ रन बनाएको थियो । 

एनआरएनएका लागि सागर पुनले अविजित ४६ रन बनाउनुभयो। कप्तान सुनाम गौतमले २४ रन जोड्नुभयो । बलिङमा सुदूरका हेमन्त धामी र शेर मल्लले दुई दुई विकेट लिनुभयो । पहिलो जितसँगै एनआरएनएले दुई अङ्क बनाएको छ । वर्षाका कारण बागमती प्रदेश र प्रदेश–१ बीचको खेल रद्द भएको छ 

वर्षाकै कारण बिहिबार मुलपानी क्रिकेट मैदानमा तय भएको गण्डकी प्रदेश र मधेस प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीचको खेल पनि रद्द भएको छ । प्रतियोगितामा एनआरएनए, तीन विभागीय र सात प्रदेश गरी ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उद्घाटन गर्नुभयो ।