• ११ असोज २०८१, शुक्रबार

ओखलढुङ्गा एमालेले उम्मेदवार टुङ्ग्यायो

blog

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ २३ गते । नेकपा (एमाले) ओखलढुङ्गाले उम्मेदवार छनौटको काम टुङ्ग्याएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि एमाले ओखलढुङ्गाबाट उठ्ने उम्मेदवारको नाम टुङ्गो लगाएको हो । 

एमाले जिल्ला कमिटीको बुधबार बसेको बैठकले उम्मेदवारको नाम छनौट गरी सिफारिस गरेको एमाले जिल्ला कमिटी सचिव कमलप्रसाद न्यौपानेले बताउनुभयो । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरिएको सचिव न्यौपानेले बताउनुभयो । अम्बिरबाबु गुरुङ, किशोर अधिकारी र यज्ञराज सुनुवारको प्रतिनिधि सभा उम्मेदवारका लागि नाम सिफारिस गरेको उहाँको भनाइ छ ।

सुनुवार हाल सङ्घीय सांसद र गुरुङ प्रदेश सांसद हुनुहुन्छ । प्रतिनिधिसभा समानुपातिकतर्फ महिला खुलाबाट शकुन्तला राजभण्डारी, जनजाति महिला चम्पा राई र दलितबाट ओम दयालको नाम सिफारिस भएको छ । 

प्रदेश सभा निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्षतर्फ मोहनकुमार श्रेष्ठ, शङ्कर कटवाल र हर्कबोल राईको नाम सिफारिस गरिएको सो दलले जनाएको छ । प्रदेश सभा समानुपातिकतर्फ दलित बाट बलबहादुर परियार, अल्पसङ्ख्यक जनजातिबाट मणिराज राई (वाहिङ) र महिला (जनजाति) बाट पशुपति गुरुङको नाम सिफारिस भएको जिल्ला कमिटी सचिव न्यौपानेले जानकारी दिनुभयो । 

एमालेले प्रदेश निर्वाचन क्षेत्र (ख) को लागि प्रत्यक्षतर्फ नानिबाबु बुढाथोकी र ज्ञानबहादुर खड्का (जीवी) को नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ खुल्ला महिलाबाट शान्ता ढुङ्गेल र खुलाबाट प्रेमप्रसाद भट्टराईको नाम सिफारिस भएको एमाले ओखलढुङ्गाले जनाएको छ । यसअघि ओखलढुङ्गाबाट नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले उम्मेदवार सिफारिस गरिसकेका छन् ।