• १३ साउन २०८१, आइतबार

ट्रसको काँधमा सङ्कटको भारी

blog

बेलायतले दुई महिनापछि नयाँ प्रधानमन्त्री पाएको छ। विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँगै उहाँ बेलायतको नयाँ प्रधानमन्त्री बन्नुभएको हो। पाँच चरणको निर्वाचन पार गरी सेप्टेम्बर ५ मा कन्जर्भेटिभ पार्टीको नेता चयन हुनुभएकी ट्रस सेप्टेम्बर ६ मा प्रधानमन्त्री नियुक्त हुनुभयो। नेता छनोटमा ट्रस र ऋषि सुनाकबीच प्रतिस्पर्धा भएको थियो। ट्रसले ८१ हजार ३२६ मत पाउनुभयो भने सुनाकले ६० हजार ३९९ मत ल्याउनुभयो। 

विदेशमन्त्री ट्रसले पूर्वअर्थमन्त्री सुनाकलाई पराजित गरेर पार्टी नेता चुनिएपछि उहाँ प्रधानमन्त्रीका रूपमा टेन डाउनिङ स्ट्रिट प्रवेश गर्नुभयो। बेलायतको इतिहासमा ट्रस तेस्रो महिला प्रधानमन्त्री बन्नुभयो। ९६ वर्षीया महारानी एलिजाबेथ द्वितीया अहिले बकिङ्गम दरबारको सट्टा बालमोरल क्यासल स्कटल्यान्डमा रहनुभएकाले ट्रस त्यहाँ गएर नयाँ प्रधानमन्त्रीको नियुक्ति लिनुभयो। 

पार्टीको चुनावमा ट्रसले आफू शक्तिमा आए आपत्कालीन बजेटमार्फत अर्बौं पाउन्ड कर कटौती गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। बढ्दो मुद्रास्फीति, ऊर्जा सङ्कट, आकाशिएको महँगी, आर्थिक सङ्कट, विभाजित पार्टीलगायत विभिन्न समस्याले ग्रस्त बेलायतको नेतृत्व गर्न ट्रसलाई ठूलो चुनौती छ। नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। ४० वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ। 

सन् २०१९ को आमनिर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका बोरिस जोन्सन गत जुलाई मध्यतिर कोभिड नियम उल्लङ्घनलगायत विभिन्न विवादमा पर्नुभयो। उहाँको कार्यशैलीविरुद्ध क्याबिनेट मन्त्रीहरूले विद्रोह गरेपछि उहाँले राजीनामा घोषणा गर्न बाध्य हुनुभयो। उहाँले राजीनामा दिएपछि दुई महिनासम्म नयाँ नेता चयनका लागि पार्टीमा विभिन्न चरणको निर्वाचन भएको थियो।

सन् १९८७ यता कन्जर्भेटिभ पार्टीलाई जोन्सनले निर्वाचनमा सबैभन्दा प्रभावशाली रूपमा जिताएको तीन वर्ष नपुग्दै उहाँले आफ्नै सांसदहरूको समर्थन गुमाउनुभयो र दलको नेताबाट समेत राजीनामा दिनुभयो। सांसद तथा कन्जर्भेटिभ पार्टीका तात्कालिक सहायक मुख्य सचेतक क्रिस पिन्चर जुन २९ मा लन्डनस्थित एउटा निजी क्लबमा जानुभयो। त्यहाँ उहाँले मदिरा पिएर आफैँलाई लाजमर्दो हुने काम गर्नुभयो। उहाँमाथि दुई पुरुषमाथि यौन दुव्र्यवहार गरेको आरोप लाग्यो। त्यसपछि वर्षौंअघिका घटनासँग सम्बन्धित कैयौँ आरोप थपिए। त्यसपछि विकसित घटनाक्रम जोन्सनको पतनको कारण बन्यो।

डाउनिङ स्ट्रिटले गत फेब्रुअरीमा पिन्चरलाई सहायक मुख्य सचेतक नियुक्त गर्नुअघि उहाँविरुद्ध लागेका निश्चित आरोपबारे आफूलाई जानकारी नभएको जोन्सनले बताउनुभएको थियो। यौन दुव्र्यवहारको आरोपपछि पिन्चर निलम्बित हुनुभयो। मन्त्रीहरूले पनि त्यही धारणा दोहो-याए तर त्यो गलत भएको प्रमाणित भयो। जोन्सनले पिन्चरलाई सहायक मुख्य सचेतक नियुक्त गरिएकोमा माफी माग्नुभयो। यसै वर्षको अप्रिलमा जोन्सनलाई लकडाउनको समयका नियम भङ्ग गरेकोमा जरिवाना गरिएको थियो। आफ्नो जन्मदिनका अवसरमा आयोजित एउटा भोजमा उहाँ सहभागी हुनुभएको थियो। 

अर्कोतर्फ यो वर्षको सुरुदेखि नै महँगी चुलिएको छ। अहिले मुद्रास्फीति ९.१ प्रतिशत छ। रुसले युक्रेनमाथि गरेको आक्रमणले तेलको र खानेकुराको मूल्य बढाएको छ। सन् २०२१ को अक्टोबरमा हाउस अफ कमन्सको समितिले तात्कालिक कन्जर्भेटिभ सांसद ओवन प्याटरसनलाई ३० दिन निलम्बन गर्ने निर्णय गरेको थियो। उहाँले लबिङसम्बन्धी नियम उल्लङ्घन गरेको र आफूलाई रकम दिने कम्पनीहरूलाई लाभ गराउने प्रयास गरेको भनाइ उक्त 

समितिको थियो।

प्रधानमन्त्रीको नेतृत्वमा कन्जर्भेटिभहरूले उहाँको निलम्बनलाई स्थगन गर्ने पक्षमा मतदान गरे। कसरी अनुसन्धान अघि बढाइयो भन्ने जाँच गर्न नयाँ समिति गठन गर्ने पक्षमा उनीहरू उभिए। चर्को विरोध भएपछि प्याटरसन राजीनामा दिन बाध्य हुनुभयो। जोनसनले आफू उक्त घटनामा चुकेको पछि स्वीकार गर्नुभयो। 

सन् २०१६ को युरोपेली सङ्घको जनमत सङ्ग्रहयता भएको राजनीतिक अस्थिरताले गर्दा ट्रस गत छ वर्षयता चौथो प्रधानमन्त्री बन्नुभयो। बेलायतको अक्सफोर्डमा जन्मिएकी ४७ वर्षीया ट्रसले अक्सफोर्ड विश्वविद्यालयबाटै स्नातक अध्ययन गर्नुभयो। उहाँका श्रीमान् र दुई छोरी हुनुहुन्छ। विद्यार्थी कालमा लिबरल डेमोक्रेटिक पार्टीसँग नजिक ट्रसले बेलायतबाट राजसंस्था उन्मूलन गर्नुपर्ने चर्को भाषण दिएर चर्चामा आउनुभएको थियो। पछि उहाँ कन्जर्भेटिभ पार्टीमा सक्रिय हुनुभयो। दुई पटकसम्म संसदीय चुनावमा पराजित भएपछि तेस्रो पटक उहाँ सन् २०१० मा सांसद निर्वाचित हुनुभयो। उहाँले शिक्षा, वातावरण, अन्तर्राष्ट्रिय व्यापार तथा परराष्ट्रमन्त्रीका रूपमा काम गरिसक्नुभएको छ। उहाँले युक्रेनविरुद्ध रुसी अतिक्रमणको कडा आलोचना गर्दै ब्रिटेनले युक्रेनलाई सैनिक तथा आर्थिक सहायता दिने नीति कार्यान्वयन गर्नुभएको छ। रुसले युक्रेनमाथि आक्रमण गरेपछि उहाँ त्यसविरुद्ध एकदमै कडा रूपमा प्रस्तुत हुनुभयो। 

उहाँ सुरुमा बेलायत युरोपेली सङ्घमै रहनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो। टेरिजा मे प्रधानमन्त्री भएपछि भने उहाँले युरोपेली सङ्घ (ईयू) छाडेर पनि बेलायतले लाभ लिनसक्ने बताउनुभएको थियो। ट्रसले प्रधानमन्त्री कार्यकालको सबैभन्दा कठिन घडीमा रहेका बेला बोरिस जोन्सनलाई साथ दिनुभएको थियो। 

बेलायत सन् २०१६ को जुन २३ मा भएको जनमत सङ्ग्रहअनुसार ईयूबाट अलग भएको हो। ४३ वर्षसम्म ईयूमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेको यो मुलुकका जनताले जनमत सङ्ग्रहमार्फत ईयूसँगको आबद्धता तोड्ने अभिमत जाहेर गरेपछि बेलायत सरकारले जनमतलाई स्वीकार गर्दै ईयूबाट अलग हुने निर्णय गरेको हो। यो निर्णय कार्यान्वयन हुन पाँच वर्ष लाग्यो। ईयूबाट अलग हुनुहुन्न भन्ने पक्षमा वकालत गर्दै आउनुभएका तत्कालीन प्रधानमन्त्री डेविड क्यामरुनले जनमत विपक्षमा गएपछि राजीनामा दिनुभयो। 

बेलायत ईयूमा रहने कि नरहने भन्ने विषयमा लामो समयदेखि बहस चल्दै आएको थियो। सन् २०१० मा सत्तामा आउनुभएका कन्जर्भेटिभ पार्टीका नेता क्यामरुनले दोस्रो कार्यकालका लागि सन् २०१५ मा भएको चुनावका बेला ईयूमा रहने वा नरहने विषयमा जनमत सङ्ग्रह गराउने प्रतिबद्धता जनाउनुभएको थियो। सोही प्रतिबद्धताअनुसार उहाँले सन् २०१६ को जुन २३ तारिखमा जनमत सङ्ग्रह गराउनुभयो। चार करोड ६५ लाख मतदातामध्ये करिब ७२ प्रतिशत मतदाताले भाग लिएको यो जनमत सङ्ग्रहमा ५१.९ प्रतिशत मतदाताले ईयूबाट अलग हुनुपर्ने पक्षमा र ४८.१ प्रतिशत मतदाताले ईयूमा रहनुपर्ने पक्षमा मतदान गरेका थिए। 

बेलायतले ईयू छाड्न हुन्न भन्ने पक्षमा प्रम क्यामरुनदेखि उहाँका मन्त्रिपरिष्दका १६ जना सदस्यदेखि विपक्षी लेवर पार्टीका नेता जेरेमी कोर्विनसम्म हुनुहुन्थ्यो। ईयूमा आबद्ध भएको ४३ वर्षको इतिहासमा बेलायतमा ईयूमा रहने वा नरहने भनी तीन पटक जनमत सङ्ग्रह भयो। यसअघिका दुईवटा जनमत सङ्ग्रहमा ईयूमै रहने पक्षमा मत जाहेर भयो भने तेस्रो पटकको जनमत सङ्ग्रहले ईयूबाट अलग हुने पक्षमा मत जाहेर ग-यो। यो बेलायतका लागि ऐतिहासिक दिन साबित भयो। 

बेलायतमा आप्रवासीविरोधी भावना बढेपछि यूके इन्डिपेनडेन्स पार्टीको उदय भयो। यो पार्टीका नेता निगोल फराजेलले बेलायत ईयूबाट अलग हुनुपर्ने पक्षमा अभियान नै चलाउनुभयो। जनमत सङ्ग्रहको परिणाम सार्वजनिक भएपछि सबैभन्दा बढी खुसी हुनुभएका फराजेलले भन्नुभएको थियो, “यो जनमत सङ्ग्रहबाट बेलायत ईयूबाट स्वतन्त्र भएको छ। यो स्वतन्त्रता नयाँ बिहानीको उदय हो।” 

जनमत सङ्ग्रहको चुनावी अभियानमा ईयू पक्षधरले बेलायतको सुरक्षा र समृद्धिका लागि ईयूमै बस्दा राम्रो हुने भनी मतदातालाई आफ्नो पक्षमा पार्ने प्रयास गरेका थिए भने ईयूको विपक्षमा अभियान चलाउनेले ईयूमा रहँदा बेलायतको सुरक्षा खतरामा परेको र आप्रवासी समास्या बढेकाले ईयूसँगको सम्बन्ध तोड्नुपर्ने पक्षमा वकालत गरेका थिए। 

एक समय थियो, बेलायती सम्राज्यमा सूर्यअस्त हुँदैनथ्यो। सर्वशक्तिशाली यो मुलुक युरोपको सुरक्षा र समृद्धिका लागि सन् १९७३ मा ईयूमा आबद्ध भएको थियो। ईयूमा बसेर बेलायतले समग्र युरोपको हितमा महìवपूर्ण भूमिका निर्वाह गरे पनि आफ्ना कतिपय सवालमा स्वतन्त्र निर्णय गर्न ईयूको आबद्धताले रोकेका कारण ईयूबाट अलग हुनुपर्ने पक्षमा लामो समयदेखि अभियान चलाउँदै आएका थिए। पछिल्ला वर्षमा एसिया र अफ्रिकाका विभिन्न मुलुकमा भएका युद्ध र द्वन्द्वका कारण युरोपले धान्नै नसक्ने गरी आप्रवासी र शरणार्थीको सङ्ख्या बढेपछि मुलुकको सुरक्षा खतरामा पर्ने भनी बेलायतीले चिन्ता व्यक्त गर्दै आप्रवासी र शरणार्थीको प्रवेशलाई रोक्न सरकारलाई दबाब दिएका थिए। बेलायतको स्वतन्त्र पहिचान र राष्ट्रिय सुरक्षा ईयूमा बस्दा खुम्चिएको अनुभव गरेका बेलायती अन्ततः ईयूबाट अलग्गिने निर्णय गरे।

ईयूबाट अलग्गिएको बेलायतलाई बलियो बनाउन नयाँ प्रधानमन्त्री ट्रसले महìवपूर्ण सुधारका कार्यक्रम ल्याउनुपर्ने अवस्था छ। बेलायत कमजोर बन्यो भने यसको असर सारा युरोपभरि पर्ने भएकाले पनि उहाँको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको छ। उहाँले सत्ता पक्ष र प्रतिपक्ष सबैलाई मिलाएर काम गर्नुपर्छ। अहिले कमजोर भएको आर्थिक अवस्थामा सुधार गर्न सक्नुभयो भने उहाँ सफल प्रधानमन्त्री बन्नुहुनेछ।