• १३ साउन २०८१, आइतबार

नगर भवन निर्माणमा ढिलाइ

blog

चितवन समाचारदाता

चितवन, भदौ २३ गते । भरतपुर महानगरपालिकाको गौरवको आयोजना सिटी हल (नगर भवन) तोकिएको समयमा सम्पन्न नहुने भएको छ । सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरका इन्जिनियर आशिष श्रेष्ठले अहिलेसम्म ३५ प्रतिशत मात्र काम भएको भन्दै समयमा काम सम्पन्न नहुने पक्का भएको जानकारी दिनुभयो । 

२०७७ मङ्सिर १८ गते सम्झौता भएको हल निर्माण कार्य २७ महिनामा सम्पन्न गर्नुपर्ने थियो । कार्यप्रगति हेर्दा काम सक्न करिब छ महिना म्याद थप गर्नुपर्ने हुन सक्ने उहाँले बताउनुभयो । निर्माण सामग्री समयमा उपलब्ध हुन नसक्नु, कोभिड–१९ सङ्क्रमणको जोखिमलगायतका कारण निर्माणमा ढिलाइ भएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । “ठूला भवनमा बेलाबेला अवरोध आइरहने हामीले पाएका छौँ । केही समस्या आउँदा त्यसको निर्णय दिन हामीलाई केही समय लाग्ने हुन्छ, त्यसका कारण पनि ढिलाइ हुने देखेका छौँ,” कार्यालय प्रमुख प्रकाश अर्यालले भन्नुभयो । 

आरसीसीको काम सकिँदा जम्मा कामको ५० प्रतिशत मात्रै सकिने उहाँले बताउनुभयो । अहिले ब्लकहरूमा ढलान गर्ने काम भइरहेको छ । भरतपुर–१० मा चार बिघा चार कट्ठा जग्गामा बन्ने हलको निर्माण लागत ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपियाँ रहेको छ । भरतपुर महानगरप्रमुख रेनु दाहालले समयमा काम सम्पन्न गर्न कार्यालयका तर्फबाट गर्नुपर्ने सहयोग गरेको भन्दै कुनै समस्या भए समाधान गर्न महानगरको भूमिका रहन्छ भन्नुभयो । सिटी हल दुई हजार जना क्षमताको हुने जनाइएको छ ।