• १३ साउन २०८१, आइतबार

प्रमुख प्रशासकीय अधिकृतमा अधिकारीको पदबहाली

blog

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी । तस्बिर : काठमाडौं महानगर

काठमाडौं, भदौ २२ गते । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पदबहाली गर्नुभएको छ। भदौ १६ गतेको मन्त्री स्तरीय निर्णयबाट अधिकारी महानगरको प्रमुख प्रकाशकीय अधिकृतमा नियुक्त हुनुभएको हो। 

पदबहाली भएसँगै उहाँले प्रशासनको अभिभावकका रूपमा काम गर्ने बताउनुभयो। ‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगर सभाको अभिभावकत्व रहन्छ। म प्रशासनको अभिभावकत्व गर्छु। कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो। 

अधिकारी २०४९ सालमा सह लेखापालबाट सेवा प्रवेश गर्नुभएको हो। २०५२ सालमा महालेखा परीक्षकको कार्यालय, २०५३ सालमा राष्ट्र बैङ्कको सेवा हुँदै २०५५ सालमा शाखा अधिकृत हुनुभयो। २०६२ सालमा उपसचिव र २०७४ सालमा सहसचिव हुनुभएका अधिकारीले स्थानीय, गृह प्रशासन, भूमि व्यवस्था, स्वास्थ्य, योजना आयोग, यातायात व्यवस्था, लोकसेवा आयोगलगायत विभिन्न सेवा र क्षेत्रको अनुभव हासिल गर्नुभएको छ। 

काठमाडौँ महानगरमा आउनुअघि उहाँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो। प्रदेश सरकार गठन हुँदा अधिकारीले बागमती प्रदेशको अर्थ सचिवका रूपमा काम गर्नुभयो। त्यसपछि लुम्बिनी प्रदेश मुख्य मन्त्रीको कार्यालयमा १७ महिना सेवा गर्नुभयो। 

महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा हुनुभएको छ। उहाँ २०७८ पुस ७ गतेको निर्णयअनुसार महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको थियो।