• १३ साउन २०८१, आइतबार

पहिरोपीडितलाई सहयोग भएन

blog

दोलखा समाचारदाता

चरीकोट, भदौ २२ गते । दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित रिचार्ज पोखरी फुटेर आएको पहिरोबाट प्रभावित नौ घरपरिवारले खासै सहयोग नपाएको गुनासो गरेका छन् । जीविकोपार्जन गर्न गाह्रो भई बिगु गाउँपालिका–५ बाट सहरबजार खोज्दै भीमेश्वर नगरपालिका–२ मा बसोबास गर्दै आएका ती परिवारलाई एक महिना बित्तिसक्दा पनि कहीँकतैबाट खासै सम्बोधनसमेत नभएको पीडित सुन्दर नेपालीले दुःखेसो पोख्नुभएको हो । 

पहिरोपीडित नौ घरका २८ जना नजिकको तिखातल प्राथमिक विद्यालयको एक कोठामा खचाखच गरेर बसेका छन् । पीडित आयुश नेपालीले भन्नुभयो, कोरोना भाइरसको जोखिमका बीच अलग–अलग बस्नुपर्ने बेला लहर लाएर सुत्नु परेको छ । विद्यालयले यही पनि नदिएको भए हाम्रो के हालत हुन्थ्यो होला ? मुन्टो लुकाउन पाएका छौँ । 

अहिले भाइरलले सबैलाई दुःख दिइरहेको छ । खानसम्म पनि धौ धौ छ । औषधोपचार कसरी गर्नु ? घरआँगनको सरकारले खासै चासो दिएको छैन । उहाँले भन्नुभयो, यो हैरानी खेपेर कति दिन बस्ने ? भएको बस्ने बास र जग्गा पनि बगाएको छ । नगरले चाँडै सुरक्षित ठाउँको व्यवस्था गरिदिए हुन्थ्यो । बास भए मजदुरी गरेर जीवन निर्वाह गर्ने थियौँ । 

सुन्दर नेपालीको बढी क्षति भएको छ । उहाँले भन्नुभयो, २० वर्ष भयो, यहाँ बसेको । खाडी मुलुकमा खाइनखाई दुःख गरेर कमाएको पैसाले चार आना जग्गा किनेर पक्की घर बनाएको थिएँ । ४३ लाख रुपियाँ लागेको थियो, त्यसमा भूकम्प अनुदान तीन लाख पाएको हुँ । अहिले न घर न जग्गा । सुरक्षित ठाउँ पाए पनि मुन्टो लुकाउने ठाउँ बनाउने हैसियत छैन । असार २९ गते पुनः बाहिर जाने निश्चित भएको थियो । २२ गते राति नै पहिरोले उठिबास बनाइहाल्यो । अहिले न यता न उता भएको छु । 

आनन्दबहादुर नेपालीको कटेरो बगाउँदा लत्ताकपडा, पालेका बाख्रासमेत बगाएको छ । अरू सात परिवारको कटेरो रहे पनि जोखिममा छ । बस्न सक्ने अवस्था छैन । स्थानीय सरकारसँग छिटो सुरक्षित बासको व्यवस्था गरिदिन उनीहरूले जोडदार माग गरेका छन् । 

नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले नौ घरपरिवारलाई एक टेन्ट र भाँडाकँुडाको सेट र बाल्टिन प्रदान गरेको छ । आयुश नेपालीले जग्गा नहुँदा दिएको टेन्टसमेत प्रयोग गर्न नपाएको गुनासो गर्नुभयो ।