• ७ मंसिर २०८१, शुक्रबार

साफ महिला च्याम्पियनसिप

पुराना गल्तीलाई सुधार गर्दै उपाधि जित्ने नेपालको लक्ष्य

blog

प्रि–म्याच कन्फरेन्समा सहभागी सातवटै टोलीका कप्तान र प्रशिक्षक । तस्बिर : ग्राफिक आर्टस

काठमाडौं, भदौ २० गते । दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ महिला च्याम्पियनसिप फुटबल मङ्गलबारदेखी दशरथ रङ्गशालामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागिता जनाउन सातवटै टोली काठमाडौँमा तयारी अवस्थामा छन् । 

च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, श्रीलङ्का, भुटान, बङ्गलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा भुटान र श्रीलङ्का रहेका छन् । 

यस्तै ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘ए’ मा भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान छन् । नेपालले मङ्गलबार साँझ ५ः३० बजे भुटानसँग खेल्दै प्रतियोगिताको शुभारम्भ गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 

प्रतियोगिता अघि सोमबार आयोजित प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीका प्रशिक्षक कुमार थापाले घरेलु मैदानमा आयोजित प्रतियोगिताको उपाधि जित्न नेपाली टोली आतुर रहेको बताउनुभयो । 

‘‘हामी पुराना गल्तीलाई सुधार गर्दै उपाधि जित्न चाहन्छौँ । सात हप्ताको तयारी हाम्रो लागि पर्याप्त छ । खेलाडीले धेरै मिहिनेत गरेका छन् । पुराना र नयाँ खलाडीको संयोजन रहेको टोली ब्यालेन्स छ । घरेलु समर्थको मन जित्दै उपाधिको प्यास मेट्न चाहन्छौँ । सहभागी सबै टोली राम्रा छन् । तर पनि हामी राम्रो खेल्नेमा विश्वस्त छौँ । थापाले भन्नुभयो, ‘‘नेपाली खेलाडी शारीरिक, प्राविधिक र मानसिक हिसाबले तयार छन् । नेपाली फुटबलमा दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । यो हाम्रो लागि राम्रो अवसर हो । ’’  

सुब्बालाई कप्तानको जिम्मेवारी 

साफका लागि नेपाली महिला टोलीको कप्तानको जिम्मेवारी एन्जिला तुम्बाप्पो सुब्बाले पाउनुभएको छ । प्रशिक्षक थापाले टोलीका २३ जनै खेलाडी कप्तान भए पनि सिनियर खेलाडीको रूपमा गोलरक्षक सुब्बालाई कप्तानको जिम्मेवारी सुम्पिएको बताउनुभयो ।

प्रि–म्याच कन्फरेन्समा सुब्बाले आफ्नो कप्तानीमा नेपाललाई उपाधि दिलाउने लक्ष्य रहेको बताउनुभयो । ‘‘हरेक खेलाडीको कप्तान बन्ने सपना हुन्छ । त्यो मेरा लागि पूरा भएको छ । म कप्तानको रूपमा प्रुफ गरेर देखाउन चाहन्छु। अर्को साफ खेल्छु, खेल्दिनँ थाहा छैन । त्यसकारण बोलेर भन्दा मैदानमा खेलेर देखाउनु ठूलो कुरा हो,’’ सुब्बाले भन्नुभयो । उहाँले टिमले राम्रो तयारी गरेकोले कप्तानको रूपमा उपाधि जित्ने अवसर आफूलाई आएको पनि बताउनुभयो । 

यसैगरी भारतका प्रशिक्षक शुरेन क्षेत्रीले टोलीले राम्रो तयारी गरेकोले उपाधि रक्षा गर्ने बताउनुभयो । ‘‘साबिक विजेता भएकोले उपाधि रक्षा गर्न चुनौती पनि छ । तर हामी उपाधि जित्नेमा विश्वस्त छौँ,’’क्षेत्रीले भन्नुभयो ।

विश्व फुटबल महासङ्घ (फिफा) ले केही समय लगाएको प्रतिबन्धले भारतीय टोलीका कुनै खालको मानसिक असर नपरेको पनि उहाँले बताउनुभयो । टोलीकी कप्तान आशालता देवीले  राम्रा खेलाडीको संयोजन गरेर टिम बनाएकोले यसपटक पनि उपाधि जितेर फर्कने बताउनुभयो । 

बङ्गलादेशका प्रशिक्षक रब्बानीले यसअघि विराटनगरमा भएको साफमा टोलीका अधिकांश खेलाडी यु–१७ रहेकोले अहिले सबै खेलाडी परिपक्व भएकोले राम्रो चुनौती दिने बताउनुभयो । उहाँले पहिलो खेलबाटै ध्यान दिएर खेल्ने पनि बताउनुभयो । यस्तै भुटान, मालदिभ्स, पाकिस्तान र श्रीलङ्काका प्रशिक्षक र कप्तानले पनि उत्कृष्ट प्रदर्शन गर्ने बताउनुभयो ।