• ९ मंसिर २०८१, आइतबार

सस्तो प्याकेजले मुस्ताङमा अडिएनन् पर्यटक

blog

सन्तोष सुवेदी

कास्की, भदौ २० गते । पछिल्लो समय पर्यटन क्षेत्रले बिस्तारै लय समाउँदै छ । कोभिड–१९ को सङ्क्रमण बिस्तारै कम हुन थालेपछि तेस्रो मुलुकसहित भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको हो । 

पर्यटन व्यवसायीका अनुसार अहिले तेस्रो मुलुकबाट पनि पर्यटक आउन थालेका छन् । पोखरा आउने पर्यटक हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्ने मुस्ताङमा अन्नपूर्णको पदयात्रा पूरा गरेर जाने पर्यटक पनि उत्तिकै छन् तर त्यहाँ पुगेका पर्यटक धेरै दिन टिक्न नसकेको व्यवसायी बताउँछन् । अझ धार्मिक पर्यटकको बसाइ अवधि मुस्ताङमा एक रातभन्दा बढी नहुने उनीहरूको भनाइ छ । पर्यटकको बसाइ कम हुनुमा पोखरेली व्यवसायी र सडक यातयात मुख्य कारक बनेको त्यहाँका व्यवसायीको गुनासो छ । पोखराका पर्यटन व्यवसायीले मुस्ताङ उक्लेका पर्यटकलाई घुमघाममा लैजाने र बसाइ अवधि बढाउने गरी प्याकेज नबनाउँदा समस्या परेको मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताउनुभयो । 

पोखरा पर्यटन परिषद्ले आयोजना गरेको छलफल कार्यक्रममा उहाँले पर्यटनबाट मुस्ताङले लाभ पाउन नसकेको उल्लेख गर्नुभयो । ‘‘मुस्ताङका व्यवसायीले पर्यटकबाट लाभ पाउन सकेका छैनन्, रातारात फर्कन्छन् । एक दिनमा मुस्ताङ घुमेर फर्किन सकिन्छ भनेर सस्तो प्याकेज बनाउँदा धेरै फाइदा लिन सकिएको छैन,” उहाँले भन्नुभयो । 

मुस्ताङमा प्रशस्तै प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा भए पनि ती सम्पदासम्म पाहुना पु-याउन नसकिएको उहाँको भनाइ छ । “कुनै बेलाको पदमार्गमा अहिले मोटर गुड्दा पनि पर्यटन क्षेत्रले मार खेपेको छ । कतिपय पर्यटक सित्तैमा कोठा खोज्ने र केही फोहोर गर्न मात्र उक्लिने अवस्था छ,” उहाँले भन्नुभयो । विदेशी पर्यटकभन्दा आन्तरिक पर्यटकबाट केही राहत मिल्ने गरेको उहाँले सुनाउनुभयो । 

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भारतीयबाहेक अन्य पर्यटकको बसाइ अवधि पनि निकै नै घटेको बताउनुभयो । “गाडीमा गएका पर्यटकलाई घुमाउने गरी प्याकेज नबनाउने हो भने उनीहरूको बसाइ अवधि कम हुन्छ । एक दिनमा घुमेर सकिन्छ भनेर छोटो र सस्तो प्याकेज नबनाइदिनुस्, पर्यटकको बसाइ अवधि बढाउन पोखराले उपयुक्त भूमिका निर्वाह गर्नुपर्छ,” उहाँले भन्नुभयो । 

उपल्लो मुस्ताङ क्षेत्र घुम्नका लागि विदेशीले एक साताको पाँच सय अमेरिकी डलर अतिरिक्त शुल्क तिर्नुपर्छ । अर्धनिषेधित क्षेत्र मानिने माथिल्लो क्षेत्रमा विदेशी पर्यटकले यो अतिरिक्त शुल्क तिर्नुपर्छ । 

कोरोना सङ्क्रमण सुरु हुनुपूर्व माथिल्लो क्षेत्रमा मात्र वर्षमा करिब पाँच हजार विदेशी पर्यटक उक्लिन्थे । विदेशी पर्यटकबाट राज्यले वर्षमा करिब ५० करोड रुपियाँ आम्दानी गरेको भए पनि त्यो रकम स्थानीय क्षेत्रको विकासका लागि खर्च नभएको व्यवसायीको गुनासो छ । 

मुस्ताङका स्थानीय तहका पदाधिकारी र पोखराका पर्यटन व्यवसायीसँगको छलफलमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले माथिल्लो क्षेत्र घुमेपछि मात्र वास्तविक मुस्ताङ देख्न सकिने बताउनुभयो । उहाँले बेनी–जोमसोम–कोरोला सडकलाई जतिसक्दो छिटो सम्पन्न गराउन प्रदेश सरकार लागिपरेको जानकारी दिनुभयो । 

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले मुक्तिनाथ क्षेत्रसम्म पर्यटक पुग्ने गरेकाले नयाँ गन्तव्य आवश्यक रहेको बताउनुभयो । उहाँले त्यहाँ रहेको दामोदरकुण्डको पर्यटन प्रवद्र्धन गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । 

“अहिलेसम्म हेलिकोप्टरबाट मात्र दामोदरकुण्ड जाने गरिएकामा अब त्यो ठाउँमा पदयात्रा गरेरै जान सकिने गरी प्रवद्र्धन गरौँ, तब मात्र धार्मिक पर्यटनमा अझ वृद्धि हुन्छ,” उहाँले भन्नुभयो । उहाँले व्यवसायीसँग मिलेर अहिलेको सस्तो र छोटो अवधिको प्याकेजलाई अब सुधार्ने प्रतिबद्धता जनाउनुभयो ।