• १४ असार २०८१, शुक्रबार

लमजुङबाट प्रतिनिधिसभामा माओवादी महासचिव गुरुङको नाम सिफारिस

blog

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ। तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, भदौ १९ गते । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस हुनुभएको छ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि सभा निर्वाचनमा सदस्यको उम्मेदवारका लागि प्रत्यक्षतर्फ सिफारिस हुनुभएको हो। नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति लमजुङको आइतबार बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो। उहाँ वि.स. २०७४ सालमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा विजयी हुनुभएको थियो। नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो।

उहासंगै प्रत्यक्षतर्फ केन्द्रीय सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस भएको छ। समानुपातिकमा मधु अधिकारी गुरुङ, उर्मिला माझी र ऋषिराम पौडेलको नाम सिफारिस भएको छ। प्रदेश क को प्रत्यक्षतर्फ मधु अधिकारी गुरुङ, हरिजङ तामाङ, मेखबहादुर भण्डारी र होमबहादुर विकको नाम सिफारिस भएको छ। प्रदेश ख मा बिमल अधिकारी र रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ।

प्रदेश सभामा समानुपातिकमा जनजाति महिलामा सतिमाया तामाङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खस आर्य महिलामा शोभा थापा, खस आर्य पुरुषमा निराजन कुँवर र दयासागर घिमिरे, अल्पसङ्ख्यकमा नन्दबहादुर कुमाल, दलित महिला जुना विक, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ र अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस भएको छ।

जिल्ला संयोजक लालबहादुर गुरुङको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज पारसमणि पौडेल, केन्द्रीय सदस्य मधु अधिकारी गुरुङ, विमल अधिकारी, देवेन्द्र पराजुली, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङलगायतको उपस्थिति थियो।

बैठकले जिम्मेवारी बाँडफाँड पनि गरेको छ। जिल्ला समन्वय समितिको सचिवमा रामचन्द्र पौडेललाई चयन गरेको छ। निर्वाचन परिचालन समन्वय समितिको प्रदेश क को इन्चार्जमा मधु अधिकारी गुरुङ, संयोजकमा निराजन कुँवर तोकिएको छ। प्रदेश ख को इन्चार्जमा बुद्धिराम गुरुङ र संयोजकमा सुनिल सुनारलाई तोकिएको छ। कार्यालय सचिवको जिम्मेवारी हरिजङ तामाङलाई दिइएको छ।