• १३ असार २०८१, बिहिबार

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९

सञ्चार मन्त्री कार्कीको नाम सुनसरी ४ बाट सर्वसम्मत सिफारिस

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । फाइल तस्बिर

सचिन पोख्रेल

सुनसरी, भदौ १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको उम्मेदवारमा सर्वसम्मत सिफारिस हुनुभएको छ।

मन्त्री कार्की सत्तारुढ गठबन्धनको कार्यदलको सदस्य तथा नेपाल सरकारका प्रवक्तासमेत हुनुहुन्छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् मन्त्री कार्कीलाई कांग्रेसको क्षेत्र नम्बर ४ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले सर्वसम्मतरुपमा एकल उम्मेदवारको रूपमा सिफारिस गरेको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको प्रमुख आतिथ्यमा क्षेत्रीय सभापति एयुब अन्सारीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट विजयी भई अहिलेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आउनु भएको छ।

वि.सं. २०७४ सालको निर्वाचनमा मन्त्री कार्की ३२ हजार ३४७ मत प्राप्त गरी विजयी हुनु भएको थियो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) नेता रमेश श्रेष्ठले २५ हजार ७५० मत प्राप्त गर्नुभएको थियो।

सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्दै आउनुभएका मन्त्री कार्कीले सुनसरीको विकास र विस्तारका साथै पार्टीको साङ्गठनिक सुदृढीकरणमा पुर्‍याउनु भएको योगदानका कारण उहाँलाई सर्वसम्मत रूपमा उम्मेदवारमा सिफारिस गरिएको जानकारी क्षेत्रीय सभापति एयुब अन्सारीले दिनुभयो।

मन्त्री कार्कीले आफ्नो पाँच वर्षीय कार्यकालमा निर्वाचन क्षेत्र लक्षित नयाँ विकासका योजना सार्वजनिक गरी कार्यान्वयन गर्नुभएको थियो । 

निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रको विकास प्राथमिकता दिँदै आउनु भएका मन्त्री कार्कीले निर्वाचन क्षेत्र विकासअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, पुललगायतका भौतिक पूर्वाधार, सप्तकोशी कटान नियन्त्रण, विपन्न तथा गरिब समुदायको उत्थान, खेलकुदको विकासजस्ता पक्षमा गरेको कामले उहाँको लोकप्रियता बढेको कांग्रेसका युवा नेता रेवतीरमण दुलालको भनाइ छ ।

आफ्नो निर्वाचन क्षेत्रका सर्वसाधारणसँग नियमित भेटघाट गरिरहने र उहाँहरुबाट आएको गुनासो र समस्यालाई तत्काल समाधान गर्नेतर्फ अग्रसर रहने स्वभावका कारण पनि उहाँको लोकप्रियता बढेको छ ।

विकासको कामदेखि जनताको भावनालाई कदर गर्दै अहिलेसम्म काम गरेको र आगामी दिनमा पनि जनताको साथमा रहेर काम गर्ने प्रतिबद्धता भएको कारण उहाँलाई सर्वसम्मतरुपमा उम्मेदवार सिफारिस गरिएको जानकारी कांग्रेसले जनाएको छ ।

मन्त्री कार्कीले विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँ २०३९ सालमा नेपाल विद्यार्थी संघको अध्यक्षसमेत बन्नुभएको थियो । 

त्यसैगरी, सुनसरी ४ (क) बाट प्रदेश सभाका लागि रेवतीरमण दुलाल, सदानन्द मण्डल, उपेन्द्र कटुबाल, मनोज साह, सुरेन्द्र गुप्ता, ताराबहादुर कार्की, सुशीला खनाल, वाजुद्धिन मियाँ, प्रमोद खेरबार र ओम कोइरालाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । समानुपातिकतर्फ १५ जनाको नाम सिफारिस गरिएको छ । 

त्यस्तै, सुनसरी ४(ख) का लागि प्रदेश सभामा डा. इस्राइल मंसुरी, पूर्णराज यादव, सत्रुधनप्रसाद यादव, सूर्यदेव दास उराँव, हरिलाल मेहता र विष्णुदेव मण्डल सिफारिस हुनुभएको छ । क्षेत्र नम्बर ४ (ख) का लागि समानुपातिकतर्फ २१ जनाको नाम सिफारिस गरिएको छ ।