• १४ असार २०८१, शुक्रबार

थापाको सिफारिस सर्वसम्मत एमालेमा आठ जनाको दाबी

blog

मकवानपुर समाचारदाता

हेटौँडा, भदौ १९ गते । आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का क्षेत्रीय कमिटीहरूले उम्मेदवारहरूको नाम सिफारिस गरेका छन् ।

दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा निर्वाचन क्षेत्र नं. १ मा एक महिलासहित पाँच जना र क्षेत्र नं. २ बाट तीन जनाको नाम शनिबार बसेको क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको हो । १ नं. क्षेत्रीय कमिटीले प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय सदस्यद्वय रामेश्वर राना र कृष्णप्रसाद दाहालसहित पाँच जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको एमाले मकवानपुरले जनाएको छ । यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ मा तीन जनाको नाम सिफारिस भएको छ । 

यसैगरी प्रदेश सभा सदस्यका लागि प्रतिनिधि सभा १ को ‘क’ र ‘ख’ बाट आठ/आठ जना प्रतिनिधि सभा २ को ‘क’ बाट तीन जना र ‘ख’ बाट चार जनाको नाम सिफारिस गरिएको छ । क्षेत्रीय कमिटीबाट प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यका लागि नाम सिफारिस भई आएका नामहरूमाथि थप सुझावसहित जिल्ला कमिटी बैठकले प्रदेश कमिटीमा पठाउने जनाइएको छ ।

यसैबीच शनिबार नै यहाँ बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको जिल्ला कार्यसमितिको बैठकले मकवानपुरका निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा कमल थापाको नाम सिफारिस गरेको छ ।

जिल्ला समिति बैठकले पार्टी अध्यक्ष थापालाई गृह जिल्लाबाट प्रतिनिधि सदस्यमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।