• १३ असार २०८१, बिहिबार

ओखलढुङ्गा काँग्रेसले उम्मेदवारको नाम टुंग्यायो

blog

जिल्ला कार्य समितिको बैठकमा नेताहरू

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ १८ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेस ओखलढुङ्गाले उम्मेदवारको नाम सिफारिस गरेको छ । शनिबार राती अबेरसम्म बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकको सर्वसम्मत निर्णय गरेर उम्मेदवारको नाम सिफारिस गरेको हो ।

प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ चार र समानुपातिकतर्फ तीनजना उम्मेदवारको नाम सिफारिस भएको छ । प्रत्यक्षतर्फ नेपाली काँग्रेस केन्द्रीय सदस्यद्वय रामहरि खतिवडा र प्रदीप कुमार सुनुवार साथै खिलानाथ दाहाल र बालकृष्ण दाहालको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ महेशकुमार कर्मोचा, गोमा केसी र बाला अधिकारीको नाम सिफारिस भएको छ । यस्तै अपाङ्गतर्फ डेकराज भट्टराई र आदिवासी जनजातितर्फ हेमालक्ष्मी राईलाई सिफारिस गरिएको छ । 

प्रदेश सभा (क) प्रत्यक्ष तर्फ १४ जना उम्मेदवारको नाम सिफारिस गरिएको नेपाली काँग्रेस जिल्ला सभापति तेजेन्द्र खलालले बताउनुभयो । गङ्गाबहादुर कार्की, राजकुमार ढुंगाना, सर्वधन तामाङ, नवीन राई, बद्रिनाथ दाहाल, टेकराज भट्टराईको नाम सिफारिस भएको छ । 

यस्तै, बेदबहादुर रोका, हरिप्रसाद दाहाल, लीला वल्लव दाहाल, विनोदकुमार केसी, महेन्द्रबहादुर कार्की, नन्दलाल गिरी, केदारनाथ दाहाल र दिनेश मगरको पनि प्रदेश (क) बाट प्रदेश सभा उम्मेदवारका लागि नाम सिफारिस भएको पार्टी सभापति खनालको भनाइ छ । प्रदेश (क) समानुपातिक तर्फ १२ जनाको नाम सिफारिस गरिएको सभापति खनालले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रदेश सभा (ख) को प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ १२ जनाको नाम उम्मेदवारका लागि सिफारिस भएको छ । प्रत्यक्षतर्फ कुमार लुइँटेल, रुद्रप्रसाद अधिकारी, अजय लुइँटेल,  भोजकुमार श्रेष्ठ, बाला अधिकारी, पुरुषोत्तम लुइँटेल, राजनकुमार सुवेदी र शान्तिराज खड्का सिफारिस हुनुभएको छ । आन्तरिक पार्टीमा टिकट ल्याउने प्रक्रियामा कुनै असन्तुष्टि नराखी जो कोहीले टिकट लिएपनि आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर विपक्षी दलसँग चुनावी प्रतिस्पर्धा गर्न सबै एकजुट हुन  नेपाली काँग्रेस ओखलढुङ्गाले आग्रह गरेको छ ।