• १४ असार २०८१, शुक्रबार

सिट बाँडफाँटमा सहमति जुटाउने प्रयास जारी छ : माधव नेपाल

blog

विराटनगर विमानस्थलमा कार्यकर्ताबाट स्वागत ग्रहण गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। तस्बिर : शशिधर पराजुली

शशिधर पराजुली

विराटनगर, भदौ १८ गते। पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका आन्तरिक समस्याले गठबन्धनबीच सिट बाँडफाँटमा केही ढिलाइ भएको बताउनुभएको छ। विराटनगरमा शनिबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले दलबीच केही दिनभित्रै सहमति बन्ने जानकारी दिनुभयो। 

‘‘गठबन्धनभित्र सिट बाँडफाँटबारे सहमति जुटाउने प्रयास भइरहेको छ। तर, सबै दलले आ–आफ्ना अडान राखिराखेका छन्,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘केही दिनभित्रै सहमतिमा यो विषय टुंगिन्छ।’’ 

गठबन्धनमा रहेको दलको हिसाबमा एकीकृत समाजवादीले पाउने सिट संख्याको बारेमा भने अध्यक्ष नेपालले स्पष्ट जवाफ दिनुभएन। उहाँले भन्नुभयो, ‘‘तपाईँहरुले मिडियामा ४० सिट भनेर लेख्नुभएको छ, कसैले ३० भनेका छन्, त्यो ५० पनि हुनसक्छ, १५, १०, एक वा नहुन पनि सक्छ।’’ नेपालले जित्ने संभावनाका आधारमा गठबन्धन दलहरूबीच सिट बाँडफाँट हुनुपर्ने धारणा आफूले राखेको प्रष्ट पार्नुभयो। 

अध्यक्ष नेपालले चुनाव अघि वाम एकताको सम्भावना नरहेको र तत्काल माओवादीसँग एकता पनि नहुने बताउनुभयो। एकीकृत समाजवादी निकट कर्मचारीको विराटनगरमा आयोजना गरिएको भेलालाई सम्बोधन गर्दै नेता नेपालले आउँदो चुनावमा पार्टीले समानुपातिकतर्फ २० लाख मत प्राप्त गर्ने बताउनुभयो। ‘‘समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित गर्छौं,’’ उहाँले भन्नुभयो।