• १४ असार २०८१, शुक्रबार

सरकारले जनताको पक्षमा काम गर्न सकेन : नेम्वाङ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १८ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक व्यवस्थामा जनताको बलमा सरकार बन्ने भए पनि अहिलेको सरकारलाई सर्वोच्च अदालतको परमादेशले बनेकाले जनताको पक्षमा काम गर्न नसकेको बताउनुभएको छ ।  

एमाले सम्पर्क समन्वय कमिटीद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । आगामी निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउनेगरी अभियानमा जुट्न उहाँले पार्टी नेता तथा कार्यकर्ताहरुमा आग्रह गर्नुभयो । 

आगामी निर्वाचनमा एमालेलाई जिताउन ढुक्कसाथ लाग्न पनि उहाँले पार्टी पङ्तिलाई आग्रह गर्नुभयो । देशको समृद्धिका लागि पनि एमाले जित्न आवश्यक रहेको नेम्वाङ्ले चर्चा गर्नुभयो । गठबन्धन दलका नेताहरुको गलत कार्यको निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले समिति बैठकमा पोल खोलिरहनुभएको उहाँले बताउनुभयो ।

एमाले फुटाउन अध्यादेश ल्याएर काँग्रेस नेतृत्व सरकारले गलत र अनैतिक काम गरेको नेता नेम्वाङले बताउनुभयो । “एमाले फुटाउनलाई अध्यादेश ल्याउने र फुटेपछि फिर्ता लिने काम विल्कुल गलत र गैरकानुनी छ” उहाँले थप्नुभयो, “गलत सोचले एमाले फुटाउने काम भएको छ, माधवकुमार नेपालहरु एमालेमा फर्किनुपर्छ, फर्केर आउनुपर्छ ।”

आफ्नै कमजोरीले पनि गत स्थानीय तह निर्वाचनमा एमालेलाई केही हानी पुगेको चर्चा गर्नुहुँदै नेता नेम्वाङ्ले पार्टीभित्रका नेता कार्यकर्ताहरुको आन्तरिक गुटबन्दी र तिक्तताले परिणाम सोचेजस्तो नआएको बताउनुभयो । आगामी निर्वाचनमा पार्टी एक ढिक्का भएर गएमात्र सफलता हात लाग्ने उहाँले चर्चा गर्नुभयो ।