• १२ साउन २०८१, शनिबार

छायो देउडाको लहर...

blog

आइगइन लोलि गौरा सबैका घरघर :

सुदूरपश्चिममा छायो देउडाको लहर :

भौगोलिक रूपमा सानो भए पनि धार्मिक, सांस्कृतिक विविधताले नेपाल विशाल छ । फरक फरक धर्म, सम्प्रदाय, जातजाति, भूगोल र क्षेत्रअनुसार स्थानीय जात्रा, नाच र चाडपर्वहरूमा पनि विविधता छ । विकासका दृष्टिकोणले तुलनात्मक रूपमा पछाडि परेको कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा गौरालाई प्रमुख चाडको रूपमा मनाइन्छ । भदौ महिना सुरु भएसँगै गौराको रमझम गाउँघरतिर सुरु हुन्छ । गौरा पर्वमा नयाँ लुगा किन्नेदेखि जागिर, व्यवसाय तथा पढाइका लागि घर बाहिर बस्ने परिवारका सदस्य घर फर्कने गर्दछन् । यहाँ दशैँलाई नवरात्रको रूपमा मनाउँछन् भने गौरालाई विशेष चासो दिएर कहिले आउला गौरा भनेर प्रतीक्षारत हुन्छन् । 

सुदूरपश्चिम प्रदेशभित्र पनि जिल्लापिच्छे फरक फरक तरिकाले गौरा पर्व मनाइन्छ । यस पर्वमा विशेष गरी महिलाको भूमिका बढिरहेको हुन्छ । महिलाले आफ्नो पति तथा परिवारको सुख, शान्तिका निम्ति व्रत (उपवास) बसी शुद्ध भई गौरी र महेश्वरको पूजा आराधना गर्ने परम्परा सुदूरपश्चिमका साथै भारतको कुमाऊ गढवाल क्षेत्रमा पनि शताब्दीयौँदेखि चल्दै आएको छ । 

गौरा पर्व तिथिअनुसार दुई किसिमका हुन्छन् । शुक्ल पक्षमा पर्ने गौरा पर्वलाई उजेली गौरा र कृष्ण पक्षमा पर्ने गौरा पर्वलाई अनेरी गौरा भन्ने चलन छ । नव विवाहिता महिलाले पहिलो उपवास लिँदा उजेली गौरा परेको वर्षदेखि सुरु गर्ने चलन छ । 

गौरा पर्वको पहिलो दिन बिरुडा पञ्चमीमा पञ्च अन्नहरू गहुँ, केराउ, गहत, मास, गुरौसलाई तामाको भाँडामा राखी परिवारका सदस्य र नातागोताहरू एक ठाउँमा बसेर मङ्गलगान गाउँदै बिरुडा भिजाएर गौरा पर्वको सुरुवात गरिन्छ । त्यसकै भोलिपल्ट षष्ठीका दिन घर नजिक टोलका सबै मानिसको पायक पर्ने कुवा, पँधेरो वा जलाशयमा बिरुडा धुने काम गरिन्छ । बिरुडा धुने बेलासमेत छुट्टै सगुन फाग गाउने गरिन्छ । धोइसकेपछि आ–आफ्नो घरमा लगिन्छ । गौरा पर्वको तेस्रो दिन अर्थात् सप्तमीमा हरियो धान र तिलको बोटमा अन्य कपडालगायतका वस्तु प्रयोग गरी गौराको मूर्ति तयार पारिन्छ । उक्त मूर्ति डालोमा राखी पण्डितद्वारा विधिवत रूपमा पूजा गरी तथा अन्य व्रतालु महिलाले दुबधागो गौराको प्रतिमामा राखेर पूजाआजा गर्दछन् । व्रतालु महिलाले दुबधागो लगाएर मात्रै शुद्ध भोजन ग्रहण गर्छन् ।

गौरा पर्वको मुख्य दिन अष्ठमी अर्थात् अठ्यावालीका दिन गौराको प्रतिमालाई गौरा आँगनमा विधिपूर्वक नचाइन्छ । ठाउँ र टोलअनुसार गौरा आँगन फरक फरक हुन्छ । गौरालाई नचाउनुका साथै सगुन फाग गाउँदै पूजा गरिन्छ । डालोमा दिनभरि पूजा गर्दा जम्मा भएका फलफूल र बिरुडालाई लामो कपडामा राखेर फल फटकाएर आकाशमा फालिन्छ । यी फलहरूलाई आकाशमै हुँदा समात्न सकेमा शुभ लक्षण हुन्छ भन्ने सामाजिक विश्वासका कारण फलफूल समात्न तँछाडमछाड हुन्छ । 

गौरादेवीको पूजा गरिसकेपछि शुद्ध बिरुडालाई महिलाहरूले सङ्कलन गर्ने काम हुन्छ । सङ्कलन गरिएका बिरुडाले घरका आफन्तलाई बिरुडाको टीका लगाउने गरिन्छ । टीका लगाउँदा सबैभन्दा पहिले आफ्नो पतिलाई बिरुडाको टीका लगाउने चलन छ । यदि पति नभएमा वा घर बाहिर भएमा पतिपछिको सबभन्दा नजिकको नातापर्ने व्यक्तिलाई पहिला बिरुडा टीका लगाउने चलन छ । 

यो त भयो गौरादेवी पूजाको विधि र प्रक्रियाको कुरा । गौरा पर्वको अर्को विशेषता हो देउडा । यस पर्वमा महिला–पुरुष युवकयुवती सबै हातमा हात मिलाएर कहिले धर्मका बारेमा, कहिले राजनीतिका त कहिले समाजका बारेमा तथा कहिले मायाप्रीतिका बारेमा देउडा दोहोरी खेल्ने गर्दछन् । 

भगवान्को आस्था बोकेका व्यक्तिहरू बाजा बजाएर घरघरबाट मन्दिरमा नेजाहरू लग्ने चलन छ । गौराको धार्मिक महìव त छँदैछ, सांस्कृतिक महìव पनि त्यति नै छ । यस पर्वले एकअर्कालाई एकठाउँमा भेला गराइ मनोरञ्जन दिन्छ । हाल यो पर्व राजधानीलगायतका विभिन्न ठाउँमा मनाउन थालिएको छ । राजधानीको टुँडिखेलमा प्रशंसा समूह तथा अन्य सङ्घसस्ंथाको आयोजनामा मनाइने यस पर्वले सुदूरपश्चिमका मानिसलाई जमघट गराएको छ । 

टँुडिखेलमा मनाइने गौरामा सुदूरपश्चिम थातथलो भई काठमाडौँमा रहेका अति विशिष्ट मान्यजन तथा लब्धप्रतिष्ठित व्यक्तिहरूको उपस्थितिले माहोल झनै रमाइलो हुन्छ । यसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाहरूमा गौराले स्थान पाएको छ । हाल आएर गौरालाई राष्ट्रिय पर्वका रूपमा मनाउँदै नेपाल सरकार तथा प्रदेश एवं स्थानीय सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ ।

सुदूरपश्चिममा यो पर्व ठाउँअनुसार हप्ता दिनसम्म पनि मनाइन्छ । यसपालिको गौरा पर्व १८ गते शुक्ल सप्तमीका दिन अठ्यावाली महìवपूर्ण दिन परे पनि खासमा बिरुडा भिजाउने १६ गते पञ्चमीको दिनदेखि सुरु भएको छ । समाजमा आधुनिकताले जरो गाड्दै गए पनि गौराजस्ता पौराणिक सन्देश बोकेका पर्वमा विचलन आउन दिनु हँुदैन । सुदूरपश्चिमको यो महान् चाडलाई जोगाउन यस क्षेत्रका विशेष गरी युवा एकजुट हुन आवश्यक छ ।