• १६ भदौ २०८१, आइतबार

अवकाशमा जाने कर्मचारीलाई दस करोड

blog

कास्की समाचारदाता

कास्की, भदौ १७ गते । पोखरा महानगरपालिकाले कर्मचारी सङ्ख्या कटौती गर्ने योजना ल्याएको छ। सो योजनाअनुसार आर्थिक वर्ष २०७९/८० मा स्वर्णिम कर्मचारी अवकाश योजना सञ्चालन गरिने भएको छ। 

महानगरपालिकाले त्यसका लागि साढे १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहे महानगरबाट निश्चित रकम पाउने छन्। महानगरका प्रवक्ता एवं वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले निश्चित अवधि पुगेका कर्मचारीलाई अवकाश जाँदा रकम प्रदान गरिने जानकारी दिनुभयो। 

उहाँका अनुसार एक वर्ष अवधि पुगेकालाई एक महिनाको सेवा सुविधा, १५ वर्ष पुगेकालाई १५ महिनाको सेवा सुविधा प्रदान गरिनेछ। महानगरले आर्थिक वर्ष २०७९/८० का लागि स्थायी कर्मचारीको तलबका लागि २६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ।

स्थायी कर्मचारीको तलब पहिलो त्रैमासिकमा आठ करोड १६ लाख, दोस्रो, तेस्रो र चौथो त्रैमासिकमा समान छ करोड १२ लाख विनियोजन गरेको छ। कर्मचारी पोसाक भत्ताका लागि ८२ लाख ५० हजार बजेट विनियोजन गरेको छ। महानगरमा ३५९ जना कर्मचारी करारमा कार्यरत छन्।