• १६ भदौ २०८१, आइतबार

नारायणगढ–बुटवल सडक विस्तार , एक वर्ष थपियो म्याद

blog

मीना कँडेल 

कावासोती, भदौ १७ गते । नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएको निर्माण कम्पनीको एक वर्ष म्याद थप भएको छ। बुटवल–नारायणगढ सडक विस्तारको काम अहिलेसम्म ९० दशमलव ६६ प्रतिशत सकिनुपर्ने थियो तर सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेटले जम्मा १८ दशमलव ४४ प्रतिशत मात्र काम सकेको छ।

कम्पनीले ढिलाइ गरेको भन्दै आलोचना भइरहेका बेला एक वर्ष म्याद थप भएको हो। 

सो कम्पनीले निर्माण व्यवसायीबाट निर्माण आरम्भमा ढिलाइ, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनु आदि कारण देखाई काम ढिलो भएको देखाएको छ। 

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख रमेशकुमार दृष्टिले लक्ष्यभन्दा ७८ दशमलव २२ प्रतिशत कम काम भएको बताउनुभयो। सडक विस्तारमा ढिलो हुनुका कारणलाई खानेपानी लाइन स्थानान्तरण, बर्सातको पानी निकास, काठ दाउरा हस्तान्तरणलगायत समस्या पनि अगाडि सारेको छ। ठेक्का सम्झौताअनुसार काम रोकिएको समयावधि गणना गर्दा त्यस अवधिको म्याद थप गरिएको स्रोतको भनाइ छ, जसअनुसार पूर्वी खण्डमा ३८६ र पश्चिम खण्डका लागि ३६५ दिन म्याद थपिएको छ। 

नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५८ किलोमिटरलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ। ६४ दशमलव ४२५ किलोमिटर सडकखण्ड रहेको नवलपुरमा १७.६ किलोमिटर छ लेन, ४२.७ किलोमिटर चार लेन, ४.१ किलोमिटर तीन लेन (दाउन्ने खण्ड)को सडक विस्तार हुने बताइएको छ।  

दुई खण्ड गरेर कुल ठेक्का रकम १६ अर्ब ९९ करोड रुपियाँ रहेको छ। गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म ११५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो। सडक विस्तार ढिलो हुँदा एकदेखि सवा एक घण्टामा पार गर्न सकिने नवलपुर सडकखण्डमा तीन घण्टाभन्दा बढी लाग्ने गरेको छ। जसले गर्दा यात्रुलाई निक्कै सास्ती हुने गरेको छ।