• १३ साउन २०८१, आइतबार

दलहरू चुनावी गतिविधि बढाउँदै

blog

बागमती प्रदेश ब्युरो

हेटौँडा, भदौ १७ गते । आगामी मङ्सिर ४ गतेका लागि प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन मिति तय भएसँगै राजनीतिक दलहरूले बागमती प्रदेशमा आफ्ना गतिविधि बढाउन थालेका छन् । राष्ट्रिय मान्यता प्राप्त दलसहित निर्वाचन आयोगमा दर्ता भएका दलहरूले पार्टी भेलालगायतका आन्तरिक गतिविधिलाई तीव्र पारेका छन् । ठूला दलले प्रदेश सभा र प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस प्रक्रियासमेत सुरु गरेका छन् ।

निर्वाचन लक्षित कार्यक्रम

सिन्धुली समाचारदाताका अनुसार दुईवटा सङ्घीय र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सिन्धुली जिल्लामा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । कांग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोख्रेलले पहिलो चरणअन्तर्गत २४ गतेसम्मका लागि ‘जनताको साथमा कांग्रेस’ अभियान भइरहेको बताउनुभयो । प्रदेश सभाको तीन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फका आकाङ्क्षीको नाम सिफारिस गर्ने काम सकिएको र प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १(क) मा उम्मेदवार सिफारिस गर्न बाँकी भएको कांग्रेसले जनाएको छ । 

नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार छनोट गर्न भदौ १८ गते पालिकाहरूबाट र १९ गते प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रबाट सुझाव सङ्कलन गर्ने र २० गते जिल्ला कमिटीको बैठकबाट उम्मेदवार सिफारिस गर्ने जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य लेखनाथ दाहालले जानकारी दिनुभयो ।

यसैगरी नेकपा (एमाले)ले पनि भदौ १७ गते प्रदेश सभा निर्वाचन क्षेत्रबाट र १८ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस तथा भदौ १९ गते जिल्ला कमिटी बैठकबाट प्रतिवेदन बनाई २१ गते प्रदेश कमिटीमा पठाउने योजना रहेको प्रचार विभाग प्रमुख सञ्जय दाहालले जानकारी दिनुभयो । नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार सर्वसम्मत सिफारिश गरी पठाएको जनाएको छ । त्यस्तै अन्य साना दल पनि निर्वाचनको तयारीमा जुटेका छन् ।

बढ्यो चुनावी चहलपहल 

चरीकोट समाचारदाताका अनुसार दोलखामा क्रियाशील राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन लक्षित कार्यक्रम सुरु गरेसँगै जिल्लामा चुनावी चहलपहल बढेको छ । दलहरूले अभियान, भेला, बैठकलगायतका कार्यक्रम लिएर कार्यकर्ता भेट्न गाउँ पस्न थालेका छन् । एमाले दोलखाले जिल्लामा सबै स्थानीय तहमा प्रतिनिधि खटाएर एक महिने सङ्गठन शुद्धीकरण सञ्चालन गरेको एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो । 

त्यस्तै जनताको साथमा कांग्रेस कार्यक्रम सुरु गरेको दोलखा कांग्रेसले गाउँगाउँमा गएर स्थानीयको समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेका कामको जानकारी गराउनेलगायतका कार्य गर्ने दोलखाका जिल्ला सचिव सन्तोष पाठकले बताउनुभयो । माओवादी केन्द्रले पनि निर्वाचन लक्षित कार्यक्रम लिएर गाउँ जाने तयारी गरेको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भीमप्रसाद दहालले निर्वाचन लक्षित बैठक तथा छलफल जारी रहेको बताउनुभयो ।  

कांग्रेसको निर्वाचन लक्षित योजना

रामेछाप समाचारदाताका अनुसार निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस रामेछापले जिल्लाका आठवटै स्थानीय तहमा अभियान सञ्चालन गर्दैछ । कांग्रेसले यही भदौ २२ देखि २४ गतेसम्म सबै पालिकामा पालिका स्तरको निर्वाचन केन्द्रित पहिलो चरणको कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको कांग्रेस रामेछापका प्रवक्ता नारायण बोगटीले बताउनुभयो । “भदौ २२ गते गोकुलगङ्गा, खाँडादेवी, सुनापति, दोरम्बाशैैलुङ, लिखुतामाकोसी र उमाकुण्ड गाउँपालिकामा कार्यक्रम गर्ने निर्णय भएको छ,” उहाँले भन्नुभयो । 

कांग्रेसको जिल्ला समिति बैठकले पार्टीको आन्तरिक विवाद समाधान गरी चुनावी अभियानमा लाग्ने यसअघि निर्णय गरेको थियो । बैठकले कांग्रेस जिल्ला कार्यसमितिको बैठक गत साउन ३ गतेपूर्वको स्थितिमा जो जसको जुन पदीय जिम्मेवारी छ, त्यही अवस्थामा फर्कने निर्णय गरेको प्रवक्ता बोगटीले बताउनुभयो । विवाद उत्पन्न भएपछि केही महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यलगायतबाट केन्द्रीय कार्यसमिति र बागमती प्रदेश कार्यसमितिमा सभापतिको बर्खास्तीलगायतका माग राखेका थिए ।