राममणि दाहाल
हेटौँडा, भदौ १५ गते । पश्चिमी मकवानपुरका चेपाङ समुदाय आफ्ना बालबालिका र परिवारसरह चिउरी संरक्षणमा लाग्ने प्रतिबद्धतासहित चिउरीका बिरुवा रोप्न जुटेका छन्। परम्परागत र प्राकृतिक रूपमा चिउरीसँग विशेष सम्बन्ध रहँदै आएको चिउरीलाई आम्दानीको स्रोतसँगै पर्यावरण संरक्षणलाई जोडेर चिउरीको संरक्षणमा लागेका हुन्।
पछिल्लो समय चिउरी नासिँदै गएपछि चेपाङको चिउरीप्रतिको अपनत्वसमेत हराउँदै गएको छ र चिउरीबाट हुने आम्दानीको स्रोत गुम्दै गएको छ। सिमान्तकृत समुदायका चेपाङको आयआर्जनसँग जोडिँदै आएको चिउरी मकवानपुरको राक्सिराङ गाउँपालिकाको चेपाङ बाहुल्य क्षेत्र वडा नम्बर ५, ६, ७, ८ र ९ मा रोप्ने र भएका चिउरीका बोट संरक्षण गर्ने अभियान थालिएको छ।
चिउरी पाकेपछि फल, घिउ, तेल, पिना, मह उत्पादन आदिमा प्रयोग हुँदै आएको चिउरीलाई चेपाङ समुदायको जीविकोपार्जनसँगै जोड्दै स्थायी आम्दानीको स्रोतमा परिणत गर्न चेपाङ चिउरी युवा क्लबका आयोजना र राष्ट्रिय जनवकालत मञ्च काठमाडौँको सहकार्यमा चिउरी अधिक हुँदै आएको क्षेत्रमा चिउरी संरक्षण शिविर सञ्चालन गरेको छ।
चिउरीको बियाँ प्रशोधन गरिएको तेल छालाको हेरचाहको सौन्दर्य प्रसाधनका सामग्री उत्पादन, मैनबत्ती र साबुन उत्पादनमा उपयोगी मानिन्छ। मञ्चका मकवानपुर संयोजक थलबहादुर थापा (सन्तोष) पालिकाको चार स्थानमा चिउरी संरक्षण शिविर आयोजना गरिएको बताउँदै शिविरमा सहभागीले चिउरीका बिरुवा लगाउनेसँगै आफ्नो सन्तानसरह संरक्षण र हुर्काउने प्रतिबद्धता गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार शिविरमा सहभागी स्थानीयले प्रतिबद्धता व्यक्त गर्दै भनेका छन्, ‘म चिउरीलाई आफ्नो बालबच्चा र परिवारजस्तै माया र हेरचाह गर्छु, म प्रत्येक वर्ष पाँचवटा चिउरी खाली जग्गा वा पाखा पखेरामा रोप्छु, म चिउरीका लागि प्रार्थना गर्छु, म अब चिउरीको घाँस काट्दिन, अरूलाई पनि काट्न दिन्न र चिउरीको चोप निकाल्दिन।”
चिउरी पाकेपछि खान र चिउरीको बियाँको घिउ उत्पादन गर्दै आएकोमा पछिल्लो समय चिउरी अधिक भएको क्षेत्र पश्चिमी मकवानपुर राक्सिराङ गाउँपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मौरीपालन पकेट क्षेत्रको रूपमा समेत विकास हुँदै आएको छ। चिउरीको जङ्गल भएको क्षेत्रमा मौरीपालनसँगै चिउरी फुल्ने समयमा मौरीको घार पु-याएर चेपाङ समुदाय र व्यापारीले चिउरीको मह उत्पादन लिँदै आएका छन् तर पुराना चिउरीका रुख नासिँदै गएको र नयाँ नलगाउँदा चिउरीबाट हुँदै आएको आम्दानीको स्रोत गुमेको र चिउरी फुल्ने समयमा मौरी चरण क्षेत्रका रूपमा प्रयोग गर्न दिँदा हुने आम्दानीसमेत गुम्दै जाने भएपछि चिउरी संरक्षणप्रति चेपाङ समुदाय जागरुक हुँदै संरक्षण अभियानमा लाग्न थालेका हुन्। चेपाङ समुदायमा छोरीको विवाह हुँदा दाइजोका रूपमा चिउरीको बोट दिने प्रचलन रहेको छ।
चेपाङ समुदायको सामाजिक र आर्थिक जीवनसँग जोडिएको चिउरीको संरक्षण गर्दै राक्सिराङ–६ स्थित सिलिङ्गे सामुदायिक वन उपभोक्ता समितिले पाँच हजार चिउरीका बिरुवाको नर्सरी उत्पादन गरिरहेको छ।
चिउरीको संरक्षणले चेपाङ समुदायको अर्थोपार्जनमा सहयोगसँगै वातावरण संरक्षण र भूक्षय रोक्नसमेत सहयोगी हुने भएकोले अभियानका रूपमा चिउरीको संरक्षण गत चार वर्षदेखि फिनल्यान्ड सरकारको सहयोगमा विभिन्न कार्यक्रममार्फत गर्दै आएको संयोजक थापाले बताउनुभयो।
चिउरी संरक्षणका लागि कलमी गरी बिरुवा उत्पादन गर्ने प्रयास अपेक्षाअनुसार सफल नभएपछि चिउरीको बियाँ सङ्कलन गरेर नर्सरी उत्पादन थालिएको छ, थापाले भन्नुभयो। मञ्चको समन्वयमा भदौ महिनाभित्रमा १६८ परिवारलाई चिउरीको बिरुवा रोप्न प्रदान गरिने भएको छ।
यस्तै राक्सिराङ–६ लाई चिउरी पकेट क्षेत्रका रूपमा विकास गर्दै चिउरीलाई चेपाङको जीविकोपार्जनसँग जोड्न सिलिङ्गे सामुदायिक वन क्षेत्रमा गत आर्थिक वर्षमा चिउरी रोपण गरेको डिभिजन वन कार्यालय राप्ती मकवानपुरले चालू आवमा समेत निरन्तरता दिने भएको छ।