• १३ साउन २०८१, आइतबार

नेपालगन्ज म्याराथन कोर्स अन्तर्राष्ट्रिय मापदण्डको हुने

blog

म्याराथन रुटको नाप लिन नेपालगन्ज पुगेको टोलीको स्वागत गरिँदै । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, भदौ १४ गते । नेपालगन्ज म्याराथन कोर्स अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वर्ल्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको नाप लिएका छन् । 

नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि(बानियाभार) भएर पुनः सोही रुट भई बिपी चोकस्थित सोही ठाउँमा आएर टुङ्गिने गरेको छ । 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले कोर्स मापनका लागि आमिर सान्डिवानलाई नेपालगन्जमा स्वागत गर्दै सफलताको शुभकामना दिनुभयो । ‘नेपालगन्ज म्याराथनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्जको ब्रान्डिङ हुन लागेकोमा निकै खुसी लागेको छ ।’ प्रमुख विष्टले भन्नुभयो–‘उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ ।’ 

म्याराथनको आधिकारिक दौडको दुरी ४२/१९५ किलोमिटर हो । नेपालगन्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दश किलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला तथा स्कुलस्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ । 

यसमा म्याराथन, हाफ म्याराथन, दश किलोमिटर र पाँच किलोमिटर अलग अलग सर्टिफिकेट आउने सान्डिवानले बताउनुभयो । कोर्स मापनको सुरुवाती चरणमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । एम्सको मान्यतापछि कोर्स अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ । 

‘एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरू प्नि आउने सम्भावना बढ्ने भएकोले यहाँको पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने अपेक्षा लिएको छु ।’ प्रमुख विष्टले भन्नुभयो–‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुसीको कुरा हो ।’ 

नेपालगन्ज म्याराथन हरेक वर्ष मङ्सिर महिनाको पहिलो शनिबार आयोजना हुने गर्दछ । यस वर्ष मङ्सिर ३ गते तय भई तयारी अघि बढेको थिए । आमनिर्वाचनको मिति घोषणासँगै आयोजक क्रियटिभ ह्याण्ड्सले तीन साता पछि सार्दै मङ्सिर २४ गते शनिवार आयोजनागर्ने तयारी गरेको छ ।