• ७ पुस २०८१, आइतबार

सिकाइमैत्री वातावरणको अभाव

blog

बुलबुले समाचारदाता

सुर्खेत, भदौ १३ गते । कर्णालीका बालविकास केन्द्रमा सिकाइमैत्री वातावरणको अभाव देखिएको छ। शैक्षिक सामग्री, बालमैत्री शौचालय, खानेपानी र सिकाइका लागि उचित वातावरणको अभाव छ। जसले गर्दा बालबालिकामा सिकाइको जग बलियो बन्न नसकेको बताइएको छ।

दुल्लु नगरपालिका–१०, ज्वाला आधारभूत बालविकास केन्द्रका शिक्षक अमृता थापाले बालबालिकाका लागि आवश्यक पर्ने पर्याप्त शैक्षिक सामग्रीको अभाव भएको बताउनुभयो। उहाँले बालविकास केन्द्रमा विद्यार्थीको चाप बढेको तर अपेक्षित सिकाइ हुन नसकेको बताउनुभयो।

डेढ दशक बितिसक्दा पनि बालविकास केन्द्रको अवस्था खासै नफेरिएको कालीकोटको महावै गाउँपालिका–६ स्थित दलित उत्थान बालविकास केन्द्रका बालविकास सहजकर्ता (ईसीडी शिक्षक) कमला शाहीले बताउनुभयो। 

“साँघुरो कोठा छ, बसाइँको व्यवस्थापन राम्रो छैन,” उहाँले भन्नुभयो, “शौचालय, खानेपानी र खेलसामग्री पनि छैनन्।” बालमैत्री वातावरणमा सुधार ल्याउन नसकिएकाले अवस्था ज्यूँ का त्यूँ रहेको उहाँको भनाइ छ। सिकाइ गतिविधि कक्षाकोठामा मात्र सीमित बनेको भन्दै बालबालिकाले नयाँ सिकाइका अभ्यास गर्न नसकेका उहाँको अनुभव छ। सो बालविकास कक्षा सुरु भएको १२ वर्ष पूरा भयो। सुरुवातमा तीनदेखि चार वर्ष उमेर समूहका ३१ जना बालबालिका राखेर सिकाइ गतिविधि अघि बढाइएको थियो। उक्त समुदायमा केन्द्र स्थापनापछि पहिलो चरणमा यसबारे समुदायलाई सुसूचितका कार्यक्रम पनि सञ्चालन भयो। धैरैजसो अभिभावक आफ्ना बालबालिकालाई सानै उमेरमा केन्द्रमा पठाउन राजी भएनन्। सचेतनाका कार्यक्रम सञ्चालन गरेपछि बिस्तारै अभिभावकले केन्द्रमा बालबालिका पठाउन थाले। दोस्रो वर्ष बालबालिकाको सङ्ख्या बढेर ४५ पुग्यो। तत्कालीन समयमा गाउँ विकास समितिको निजी स्रोतबाट सहयोगी सहजकर्ता राखेर सिकाइ गतिविधि थालिएको थियो। ती सहजकर्ताले मासिक एक हजार रुपियाँ पाउँथे। त्यहाँ न भरपर्दा भौतिक संरचना थिए, न त सिकाइ सामग्री नै। अवस्था अहिले पनि उस्तै रहेको उहाँको भनाइ छ। 

चन्दननाथ नगरपालिका–२, भगवती आधारभूत बालविकास केन्द्रकी तिलकन्या शाही २४ वर्षदेखि बालविकास केन्द्रमा सेवा गरिरहनुभएको छ। केन्द्रमा अहिले पनि गतिला भौतिक पूर्वाधार र सिकाइ सामग्री नभएको उहाँको गुनासो छ। शिक्षामा सहकार्य गर्दै आएको सेभ द चिल्ड्रेनका शिक्षा प्रमुख आत्माराम भट्टराईले घरपछिको सिकाइको जग बलियो बनाउनुपर्ने बताउनुभयो। प्रत्येक टोल–टोलमा बालविकास केन्द्र खोलिएको भए पनि पर्याप्त मात्रामा सामग्री र भवन अभाव भएको उहाँको अनुभव छ । केही बालविकास केन्द्रमा धेरै राम्रा अभ्यास भएका छन्। राम्रा कुरालाई सिकाइ गर्दै अगाडि बढाउनुपर्ने उहाँको जोड छ। ईसीडी शिक्षक हकहित मञ्च कर्णाली प्रदेशका अध्यक्ष गीता बटालाले आफूहरूका विभिन्न माग पूरा गर्न कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो। उहाँका अनुसार प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक)को स्थायी र अन्य सेवा–सुविधा बढाउनुपर्ने तथा केन्द्रलाई पूर्वाधार सम्पन्न बनाउनुपर्नेलगायतका माग राखिएको छ।