• १२ असार २०८१, बुधबार

कटेरोमा बसेर पढ्न बाध्य

blog

बाबुराम शर्मा 

चरीकोट, भदौ १३ गते । भूकम्प गएको सात वर्ष बितिसक्दा पनि दोलखाको उत्तरी कालिञ्चोक गाउँपालिका–५ स्थित लापिलाङ माध्यमिक विद्यालयका विद्यार्थी कटेरोमै बसेर पढ्न बाध्य छन्। 

विद्यालय भवन निर्माणाधीन रहेकाले यसरी बस्नु परेको प्रधानाध्यापक दीपक खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार जस्ताको छानो र बारसमेत रहेकाले विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन सारै कठिन छ। कक्षाकोठामा एकअर्का कोठाको आवाजले बाधा भइरहन्छ। यहाँ ६–१२ र केही टाढा १–५ कक्षा पनि टहरामै सञ्चालन भइरहेको छ। जे जस्तो परिस्थिति भए पनि पढाउन बाध्य हुनु परेको छ। विद्यालयले वार्षिक ३२ हजार रुपियाँ जग्गाको भाडा पनि तिर्दै आएको छ। 

एडीबीको आर्थिक सहयोगमा २२ कोठे नयाँ भवन निर्माण भइरहेको जानकारी दिँदै प्रधानाध्यापक खड्काले भन्नुभयो, “निर्माण कार्यस्थल एकै ठाउँ भएकाले सरकारले निर्माण गरिदिएको छकोठे भवन पनि प्रयोग गर्न पाइएको छैन। केही महिनापछि दुवै भवन प्रयोगमा आएपछि पढाइमा सहजता आउने अपेक्षामा छौँ।” विद्यालयमा भवन अभाव मात्र होइन, शिक्षकको पनि उस्तै अभाव छ। उहाँले भन्नुभयो, “थोरै शिक्षकले १ देखि १२ कक्षासम्म सञ्चालन गर्नु परेको छ।” यो विद्यालयमा स्थायी प्राविका चार जना मात्र शिक्षक छन्। 

माविमा चार, निमाविमा तीन र प्राविमा तीन राहत दरबन्दीका शिक्षक छन्। निजीमा सात शिक्षक राखेर मुस्किलले विद्यालय धानिएको छ। स्थायी र राहतको मात्र अनुदान आउँछ। निजीको आन्तरिक स्रोतबाट बेहोर्नुपर्छ। विद्यालयमा ५२७ विद्यार्थी अध्ययनरत छन्।