• १३ साउन २०८१, आइतबार

छत्रकोटका बिद्यालयहरुमा मोवाइल निषेध

blog

छत्रकोट गाउँपालिका कार्यालयको तस्विर

तम्घास, भदौ १० गते । गुल्मीको छत्रकोट गाउँपालिकाले बिद्यालयमा मोवाइल फोन निषेध गर्ने निर्णय गरेको छ । 

गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकले बिद्यालयहरुमा मोवाइल फोनलाई निषेध गरिएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जनाकारी दिनुभयो । अध्ययन, अध्यापनलाई  अझै प्रभावकारी बनाउनका लागि यस्तो निर्णय गरिएको पाण्डेले बताउनुभयो ।

शिक्षक र बिद्यार्थीहरुले कक्षा कोठामै फेसबुक चलाउने, मोवाइलका आवाजहरुले अध्ययन, अध्यापनमै असहजता आउने अनुगमनका क्रममा पाइएकाले मोवाइल फोन बिद्यालयमा निषेध गरिएको पाण्डेले बताउनुभयो । 

बिद्यालयमा मोवाइल फोन निषेध गर्ने निर्णयलाई कार्यन्वयन गर्नका लागि प्रभावकारी रुपमा अनुगमन गर्ने र निर्णय कार्यन्वयन नगर्नेलाई कारवाही गर्ने  पाण्डेले बताउनुभयो । गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि योजनाहरु बनाएको भन्दै शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ राखेर काम गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका भित्र ४८ वटा सामुदायिक बिद्यालयहरु रहेका छन् भने ४ वटा संस्थागत बिद्यालयहरु गरी ५२ वटा बिद्यालयहरु रहेको गाउँपालिकाले जनाएको छ । गुल्मी जिल्लामा ५५७ सामुदायिक बिद्यालय ५४ संस्थागत बिद्यालयहरु रहेका छन् ।  जिल्लामा  करिब ६८ हजार बिद्यार्थीहरु रहेको शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताउनुभयो । 

Author

तिलाचन पाण्डे