• १३ साउन २०८१, आइतबार

टोल विकास नेतृत्वका लागि निर्वाचन

blog

टोल नेतृत्व चयनका लागि मतदान गर्दै टोलबासी । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ ९ गते । पाल्पाको बगनासकाली गाउँपालिकामा टोल विकास संस्थाको नेतृत्वका लागि मतदान भएको छ । बगनासकाली गाउँपालिका ५ को लाङ्घाली टोल विकास संस्थाको नेतृत्वका लागि दुई जना उम्मेदवारबीच निर्वाचन भएको हो । 

संस्थाको नेतृत्वका लागि दुई समूहबीच निर्वाचन भएको बगनासकाली गाउँपालिकाले जनाएको छ । पालिकाभरी हालसम्म ७५ वटा टोल विकास संस्था गठन भइसकेको र अन्तिम टोल विकास संस्था गठन गर्ने बेलामा बिवाद भएपछि नेतृत्वका लागि निर्वाचन गरिएको पालिका प्रवक्ता टीकाबहादुर थापाले जानकारी दिनुभयो । 

पालिकाको टोल विकास समिति गठन गर्ने बेलामा दुई समूहबीच सहमति हुन नसकेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिएको वडाध्यक्ष ओमप्रकाश गैरेले जानकारी दिनुभयो । मतदानबाट लाङघाली टोल विकास संस्थाको अध्यक्षमा रनबहादुर खाम्चा निर्वाचित हुनुभएको छ । 

कुल ६० जना स्थानीय बासिन्दाले मतदान गरेकोमा रनबहादुर खाम्चाले ४० र निकटतम प्रतिद्वन्द्वी भुवनसिंह खाम्चाले १९ मत पाउनुभयो । एक मत बदर भएको बगनासकाली –५, का वडासचिव गोपाल न्यौपानेले जानकारी दिनुभयो । बगनासकाली गाउँपालिकाले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन–२०७४ स्वीकृत गरेपछि नौ वटै वडामा टोल विकास संस्था गठन तथा पुनर्गठन भएको छ ।