• १२ असार २०८१, बुधबार

भुजेल गाउँमा घरघरै खानेपानी धारा

blog

धारामा पानी थाप्नु हुँदै ९७ वर्षीया रत्नकुमारी भुजेल । तस्बिरः बाबुराम शर्मा

चरीकोट, भदौ ९ गते । शैलुङ गाउँपालिका–४ चिनाखोरियाका भुजेल २२ घरपरिवाले घर आँगनमै खानेपानी प्रयोग गर्न पाएपछि खुसी भएका छन् । घर आँगनमै खानेपानी प्रयोग गर्न पाएपछि ९७ वर्षीया रत्नकुमारी भुजेल खुसीले गदगद हुनुहुन्छ ।  

पालिकाको एक घर एक धारा कार्यक्रमलाई सहयोग गर्दै एक गैरसरकारी संस्थाले सञ्चालन गरेको खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाबाट छरछरे चिनाखोरिया खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएको छ । ९७ वर्षीया भुजेलले भन्नु भयो, बाबुबाजेको पालादेखि पानी प्रयोग गर्न नपाएहरुले अहिले शुद्ध पानी घरघरमा प्रयोग गर्न पाएका छन् । बर्खाको धमिलो र हिउँदमा दुई घण्टा पैदल हिँडेर पानी बोकेर पिउनुपर्ने बाध्यता हटेको छ । 

कपडा धुने, नुहाउने काम दिन माया मारेर हप्तामा एक पटक खोलामै पुग्नु पथ्र्यो । वस्तुभाउलाई पनि भने जति पानी दिन पाइन्नथ्यो । पानीकै हन्डर धेरै खेपियो । अहिले बुढेकालमा भने सारै सजिलो भएको छ । अबका सन्तानलाई पानीको हन्डर भोग्नु परेन । 

पूर्व स्मरण गर्दै ७६ वर्षीय क्षेत्रबहादुर भुजेलले भन्नुभयो, बर्खामा कता पानी उम्रियो भनेर खोजेर कुवा बनाएर धमिलै भए पनि पानी पिउनुपर्ने बध्यता हटेको छ । हिउँदमा कुवा सुकेपछि दुई घण्टा पैदल हिँडेर पानी बोकेर ल्याउनुपर्ने समस्या पनि टरेको छ । यस्तो दिन आउला भनेर सपनामा पनि सोचेको थिएन ।  भुजेल समुदायको पानीको यो मोजमज्जा होला भनेर गाउँलेलेनै नसोचेको बताउछन् ।

वाटर एड नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) दोलखाको समन्वयमा यो आयोजना सञ्चालनमा आएको हो । यो परियोजनामा वाटर एड नेपालको २२ लाख ७९ हजार ८६१ र उपभोक्ता जनश्रमदान तीन लाख ३९ हजार ३०२ गरी कुल २६ लाख १९ हजार १६३ रुपियाँ लगानी रहेको सीडीएफका कार्यकारी निर्देशक प्रेमप्रसाद अधिकारीले भन्नुभयो । 

Author

बाबुराम शर्मा