• ८ मंसिर २०८१, शनिबार

भारतीय प्रधानमन्त्री मोदी शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने

blog

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । फाइल तस्बिर एजेन्सी

नयाँ दिल्ली, ८ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ।    

भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ।जापान सरकारले सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टि गर्ने कार्यक्रम तय गरेको छ ।

टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुडोकान एरेनामा उक्त समारोह हुनेछ । जापानको क्योदो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ।    

जापान यस क्षेत्रमा भारतको एक प्रमुख सहयोगी हो, दुबै देशले संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाको साथ व्यापक साझेदारीको ‘क्वाड ढाँचा’ मा सहकार्य गरिरहेका छन्।

मोदी र आबेबीच उहाँ प्रधानमन्त्री रहँदा र पछि पनि मैत्रीपूर्ण सम्बन्ध कायम रहेको थियो। सन् २०१८ मा प्रधानमन्त्री मोदीको जापानको औपचारिक भ्रमणका क्रममा आबेले आफ्ना भारतीय समकक्षीलाई यामानाशी प्रान्तस्थित आफ्नो पारिवारिक घरमा भेट्नुभएको थियो।         

गत मे महिनामा क्वाड शिखर सम्मेलनमा भाग लिन जापान गएका भारतीय प्रधानमन्त्री मोदीले आबेले राजीनामा दिएको करिब दुई वर्षपछि त्यहाँ भेटेवार्ता गर्नुभएको थियो।    

जापानी भूतपूर्व प्रधानमन्त्री आबेमाथि जुलाई ८ मा नारा शहरमा चुनावी भाषणका क्रममा आक्रमण भएको थियो । प्रहरीका अनुसार पछाडिबाट गोली लागे लगत्तै उहाँ होश रहेपनि उपचारका लागि स्थानान्तरणका क्रममा उहाँको अवस्था गम्भीर बन्दै गएको थियो।त्यही दिन स्थानीय अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो। आबेको हत्यापछि भारतमा एक दिन राष्ट्रिय शोकको घोषणा गरिएको थियो।    

सेप्टेम्बर २७ मा हुने आबेको अन्त्येष्टि दोस्रो विश्वयुद्धपछि पूर्व प्रधानमन्त्रीका हैसियतमा दोस्रो राजकीय अन्त्येष्टि हुनेछ।यस पहिले सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो।  (रासस/एएनआई)