• १३ साउन २०८१, आइतबार

दक्ष जनशक्तिको अभावले अग्नि नियन्त्रणमा कठिनाइ

blog

फाइल फाेटाे

नेपालगञ्ज, भदौ ७ गते । नेपालगञ्जमा रहेका दमकलमा काम गर्ने दक्ष जनशक्ति अभाव हुँदा अग्नि नियन्त्रणमा कठिनाइ देखिएको छ । आगलागीका घटना भए दमकलको पानी भर्ने स्टेशनसमेत नहुँदा आफ्नै कार्यालयमा धाउनुपर्ने बाध्यता रहेको नेपालगञ्ज उपमहानगरपालिकाका दमकल शाखाका प्रमुख झोइनबहादुर खड्काले जानकारी दिनुभयो ।     

“कहिलेकाहीँ हाम्रो पानी भर्न स्टेशनमा आउँदा ठूलो क्षति भइसकेको अवस्था हुन्छ”, उहाँले भन्नुभयो । नेपालगञ्जमा तीन दमकल रहेका छन्, तर दक्ष जनशक्ति अभावले सास्ती भइरहेको त्यसमा संलग्न व्यक्तिले गुनासो गरेका छन् ।     

एउटा दमकलका लागि कम्तीमा छ जनाको जनशक्ति आवश्यक हुनुपर्नेमा नेपालगञ्जका तीन दमकलका लागि पाँच स्थायी र सात अस्थायी कर्मचारीमात्रै रहेको प्रमुख खडकाले जानकारी दिनुभयो । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले नेपालगञ्जमा अग्नि नियन्त्रणको अवस्था, अग्नि नियन्त्रणमा देखिएका बाधाको विषयमा अध्ययन गरिरहेको छ ।     

परियोजनाका प्रमुख शिव सुवेदीले यहाँका साँघुरा बाटा र घना बस्तीले दमकलको आवतजावतमा कठिनाइ भएको उल्लेख गर्दै दमकलको पानी भर्ने स्टेशन नहुँदा त्यसले अग्नि नियन्त्रणमा ढिलाइ हुने बताउनुभयो । उहाँले यहाँका दमकलले भारतसम्म सेवा दिएको काम प्रशंसनीय भएको बताउँदै अग्नि नियन्त्रणका केही असल अभ्यास भएको उल्लेख गर्नुभयो ।     

बाँकेका अधिकांश स्थानीय तहमा दमकल छैनन् । कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल छ । बाँकेमा आठ स्थानीय तह छन् ।