• ७ जेठ २०८१, सोमबार

‘केन्या भ्रमण स्तर सुधारको अवसर’

blog

केन्या भ्रणमको विदाइ कार्यक्रमपछि नेपाली टोली । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ ६ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमण नेपाली क्रिकेट खेलाडीको स्तर सुधारको अवसर भएको बताउनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार आयोजना गरेको खेलाडी विदा कार्यक्रममा प्रशिक्षक प्रभाकरले टोलीमा युवा खेलाडी रहेकोले एक दुई दिनमै सोचे जस्तो नहुने बताउनुभयो । 

‘टोलीका युवा खेलाडी छन् । छिटो सिक्ने र प्रदर्शनमा सुधार गर्ने सबैको लक्ष्य छ । युवा खेलाडीहरु राम्रो प्रदर्शनका लागि तयार छन् । आशा छ, हामी टिमको रुपमा राम्रो प्रदर्शन गर्नेछौं । केन्यामा खेलाडीको वास्तविक परीक्षा हुनेछ,’ प्रभाकरले भन्नुभयो । एक साताअघि नेपाली टोलीको प्रशिक्षक बन्नुभएका प्रभाकरले केन्या भ्रमणबाटै नेपाली टोलीको औपचारिक प्रशिक्षण शुभारम्भ गर्नुहुनेछ । 

यसैगरी नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले नेपालका लागि केन्या भ्रमण महत्वपूर्ण भएको बताउनुभयो । ‘टोलीमा नयाँ र पूराना खेलाडीको सम्मिश्रण छ । हामीले मिहिनेत गरिरहेका छौं । प्रशिक्षकले भने जस्तै टोलीको प्रदर्शनमा विस्तारै सुधार आउने अपेक्षा गरेको छु । नयाँ प्रशिक्षकको प्रशिक्षणमा खेल्न सबै उत्साहित छौं । आगामी दिनमा नेपालले सोचको नतिजा ल्याउने आशा छ,’ सन्दीपले भन्नुभयो । 

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केन्या क्रिकेट सङ्घको आग्रहमा वरीयतामा तलै भएपनि नेपालले सिरिजका लागि निम्तो स्वीकार गरेको बताउनुभयो । ‘आईसीसी लिग–२ अघि यस भ्रमणले नेपालको स्तर सुधार हुने सोचेका छौं । वर्षाका कारण नेपालले खेल्न नपाइरहेको बेला यो सिरिज राम्रो अवसर हो । खेलाडीले मिहेनेतका साथ जितेर आउनेमा विश्वास गरेका छौं । यसले नेपालको वरीयतामा समेत सुधार हुने ठानेका छौं,’ चन्दले भन्नुभयो ।

उहाँले नेपालले सन् २०२४ को टी–२० विश्वकपका लागि अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको पनि बताउनुभयो । केन्या भ्रमणमा नेपाली टोलीको सम्पूर्ण खर्च केन्या क्रिकेट एसोसिएसनले गर्ने बताइएको छ । 

आजै (सोमबार) केन्या जाने टोलीलाई अध्यक्ष चन्द र क्यानका पदाधिकारीले बिदाइ गर्नुभएको थियो । केन्यासँग नेपालले पाँच वटा टी–२० र तीन वटा एकदिवसीय सिरिज खेल्नेछ । केन्या भ्रणमका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा यसअघिनै  नेपाली टोलीको घोषणा गरिसकेको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टोलीमा पुनरागमन गर्नुभएको छ । नयाँ खेलाडीको रुपमा अर्जुन साउदले पनि मौका पाउनुभएको छ । 

नेपाल र केन्याबीचको टी–२० र एक दिवसीय सिरिजको खेल तालिका पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जस अनुसार नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ तारिखसम्म सिरिज खेल्नेछ । नेपालले पाँच खेलको टी–२० सिरिज अगस्ट २५, २६, २८, २९ र ३० तारिख तथा एक दिवसीय सिरिज सेप्टेम्बर २, ३ र ५ तारिख खेल्नेछ । 

नेपाली टोली : 

सन्दीप लामिछाने (कप्तान), राेहित पौडेल (उपकप्तान), ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, आशिफ शेख, बसिर अहमद, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव कमल, आदिल आलम, करण केसी, अर्जुन साउद, पवन सरार्फ, शाहव आलम, किशोर महत्तो र विवेश यादव ।