गोपी ज्ञवाली
नवलपरासी, भदौ ६ गते । चिनी उद्योग सञ्चालक र उखु किसानबीच बर्सेनि भुक्तानीसम्बन्धी समस्या आउने भएपछि किसान उखुखेती छाडेर केराखेतीतर्फ लाग्ने क्रम बढ्दो छ ।
पश्चिम नवलपरासीका किसान केराखेतीमा आकर्षित हुँदै गएको नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष लख्खु यादवले बताउनुभयो ।
सात वर्षदेखि व्यावसायिक केराखेती सुरु गरिएका पश्चिम नवलपरासीका प्रतापपुर, पाल्हीनन्दन, सुस्ता एवं सरावललगायतका क्षेत्रमा व्यावसायिक केराखेतीले राम्रो आम्दानी दिन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा पहिले उखुखेती गरिरहेका केही किसानले केराखेती सुरु गरे भने कतिपयले सुर्ती, मुम्फली (बदाम) र तरकारी खेती गर्न थालेका थिए । यीमध्ये केराले नै राम्रो आम्दानी दिएपछि किसान अन्य खेती छाडेर केराखेतीतर्फ नै आकर्षित भएका हुन् ।
मुख्य रूपमा जी–९ जातको केराखेती गरेका किसानले राम्रो प्रतिफल लिइरहेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो ।
प्रमुख अर्यालका अनुसार किसानले केराखेतीबाट राम्रो आम्दानी लिन सफल भएपछि प्रदेश र सङ्घीय सरकारले अनुदानका कार्यक्रम ल्याएका छन् ।
नवलपरासीको सुस्ता, प्रतापपुर, सरावल, विनयीत्रिवेणी, पाल्हीनन्दन गाउँपालिका एवं रामग्राम नगरपालिकाका सयौँ किसानले पाँच–सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका हुन् । ठूलो खैरेटहवा, सोमनी, जमुनिया, खैरहनी, प्रतापपुर, सूर्यपुरा, बैदौली, श्रीरामपुर, गुहरपुरवा, बदरी, पिपरपाती, बलुवा टोला पकलिहवा, नर्सही, कुडिया, रुपौलिया, त्रिवेणीको वनकट्टी, रैहवा, जितपुरगढी, रानीनगरलगायतका क्षेत्रमा पनि धेरै किसान व्यावसायिक केराखेतीमा संलग्न छन् ।
अहिले पश्चिम नवलपरासीमा तीन हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ ।
नवलपरासीका केरा उत्पादक किसानले सस्तो मूल्यको भारतीय केरासँग प्रतिस्पर्धा गर्नुपर्ने, सरकारी अनुदान नपाउने, कतिपय समयमा बजारको समस्या, उत्पादित केराको सङ्कलन केन्द्रको अभावसहित समयमा बीउ, मल, सिँचाइको अभावलगायतका समस्या रहेको बताइएको छ ।