• १३ साउन २०८१, आइतबार

गुल्मीमा ३६ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित १४२ पुगे

blog

तिलाचन पाण्डे

तम्घास, भदौ ३ गते । गुल्मीमा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिन थालेको छ । शुक्रबार मात्रै गुल्मीमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । 

शुक्रबार ७० जनामा गरिएको एन्टिजेन परीक्षणमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सङ्गै जिल्लामा कुल सक्रिय सङ्क्रमित सङ्ख्या १४२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । सङ्क्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेशनमा रहेको आचार्यले बताउनुभयो ।

जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न स्वास्थ्य कार्यालय गुल्मीले अनुरोध गरेको छ । जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखालाई एन्टिजेन परीक्षण गर्न निर्देशन दिएको आचार्यले बताउनुभयो । 

पालिकामा पर्याप्त मात्रामा एन्टिजेनको ब्यवस्था गरेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । केही समस्या भए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आचार्यले आग्रह गर्नुभयो । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण २८८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्क छ ।