• १३ साउन २०८१, आइतबार

वडा अध्यक्षलाई प्रधानमन्त्रीभन्दा बढी अधिकार : मुख्यमन्त्री पाण्डे

blog

काभ्रेको छैठौँ जिल्ला सभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे । तस्विरः केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, भदौ १ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीयतामा वडा अध्यक्षलाई प्रधानमन्त्रीभन्दा बढी अधिकार दिई शक्तिशाली बनाइएको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको छैठौँ जिल्ला सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो । 

वडा अध्यक्षलाई ३४ देखि ३७ वटासम्म अधिकार प्रदान गरिएको उहाँको भनाइ छ । ‘वडालाई सबैभन्दा बढी बलियो बनाउनुपर्छ भन्ने मान्यता बमोजिम वडा अध्यक्षलाई प्रधानमन्त्रीभन्दा बढी अधिकार दिइएको छ, वडा अध्यक्ष नभई कुनै काम अघि बढ्न सक्दैन’ उहाँले भन्नुभयो । 

कार्यक्रममा सम्बोधन गर्नुहुने नगर प्रमुख तथा गाउँपालिका अध्यक्षले स्थानीय तहलाई कमजोर बनाइएको गुनासो गरेपछि मुख्यमन्त्री पाण्डेले सो विषयमा धारणा राख्नुभयो ।  देशको ७५३ स्थानीय तहमा छ हजार ७४३ वडालाई बलियो बनाएको खण्डमा देश बलियो र विकास हुने उहाँले बताउनुभयो । 

सङ्घीयता लागु भएको पाँच वर्ष पूरा नहुँदा नै सङ्घीयता ठीक भएन, यसले केही काम गरेन भनेर यसको विरोधमा छलफल चलाउनुको कुनै औचित्य नहुने बताउनुभयो । अझै पनि प्रदेशमा आवश्यक पर्ने थुप्रै कानुनहरु निर्माण गर्न बाँकी रहेको उहाँको भनाइ छ ।  

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले प्रदेशभित्र यात्रा गर्दा बिद्युतीय भाडा भुक्तानी प्रणालीको सुरु गर्न लागेको बताउनुभयो । यो प्रणाली लागु भएपछि यात्रु, सवारीधनी र मजदुर समेत लाभान्वित हुने बताउनुभयो । हाल प्रदेशभित्र चौधसय कर्मचारीको दरबन्दी खाली रहेको बताउँदै आठसय पदका लागि परीक्षा भएको, दुई कर्मचारीको पदोन्नतीको तयारी भएको बताउनुभयो । 

आगामी दुई महिनाभित्र प्रदेशभित्र आवश्यक कर्मचारीको पदपूर्ति हुने उहाँले बताउनुभयो ।  प्रदेशभित्र तीन हजार छसय कर्मचारीको दरबन्दी रहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले प्रदेशभित्रका एक हजार १२१ वडामा समाजवादी वडा कार्यक्रम, बनकरिया, बोटे, माझी, सुरेल समुदायको घर निर्माण, प्रदेशका मुख्य राजमार्गमा सार्वजनिक शौचालय निर्माण, दश हजार युवालाई सीप विकास तालिम प्रदान गर्ने कार्यक्रम अघि बढाएको बताउनुभयो । 

कार्यक्रममा सङ्घीय सांसद गंगाबहादुर दोङ, नविना लामा, संविधान सभा सदस्य तीर्थ लामा, रामहरि सुवेदीलगायतले सङ्घीयतामा स्थानीय तहको भूमिकाको बारेमा धारणा राख्नुभयो ।