• ७ मंसिर २०८१, शुक्रबार

तपोभूमि मेला सम्पन्न, ५० हजार बढीको अवलोकन

blog

रेसुङगामा रहेको पोखरीमा स्नान गर्दै भक्तजनहरु । तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास भदौ १ गते । गुल्मीको तपोभूमि रेसुङगामा लागेको एक महिने साउने मेला सम्पन्न भएको छ । विगत २ वर्षदेखि कोरोना माहामारीका कारण रोकिएको साउने मेला विधिवत रुपमा सम्पन्न भएको रेसुङगा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिनुभयो ।

साउन महिनामा रेसुङगामा रहेको पोखरीमा स्नान गर्नाले गरिएका पापहरु नष्ट भई पुन्य प्राप्त हुने धार्मिक बिश्वास रहँदैआएको छ । पोखरीमा स्नान गरी सिद्धको मन्दिरमा गएर दर्शन गर्नाले अधोगतिमा गएका पितृहरुको पनि उद्धार हुने मान्यता रहँदैआएको भुसालले बताउनुभयो । 

साउन महिलाको मेला अबधिभर यज्ञशाला र शिद्धको मन्दिरमा धार्मिक प्रवचनसँगै रुद्री, चन्डी शिवजीको दैनिक पूजा वेद पारायण पाठ, पितृ पारायण, विधिवत रुपमा हवन गर्ने र  वटुकहरुबाट पाठपारायणसंगै विविध कार्यक्रमहरु भएको भुसालको भनाइ छ । पवित्र स्थलमा धर्म संस्कृतिको रक्षासँगै जगेर्ना गर्न भजन प्रतियोगिता र तीजगीत प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

साउन महिनाभर लागेको एक महिने मेलामा गुल्मी, पाल्पा, अर्घाखाँची, रुपन्देही, पर्वत, स्याङजा, महेन्द्रनगर, पोखरा र काठमाडौदेखि भक्तजनहरु पुजाआजा गर्नका लागि तपोभूमिमा आएको भुसालले बताउनुभयो । साउन महिनाभर ५० हजारभन्दा बढीले पुजाआजा र अवलोकन गरेको भुसालले दाबी गर्नुभयो ।

सदरमुकाम तम्घासलाई काखमा राखेर बसेको रेसुङगा धार्मिक, पौराणिक ऐतिहासिक एवम् प्राकृतिक सौन्दर्यले भरीपूर्ण नेपालको तपोभूमीमध्ये एक हो ।  यसको विशाल र सुन्दरताले गर्दा यसले पर्यटकीय क्षेत्रका रुपमा पनि ख्याति पाउँदैआएको छ । 

पहाडको नाम रेसुङा रहनुमा बिभिन्न कारण र किम्बदन्तीहरु छन् । पहिला त्रेतायुगमा महर्षी ऋष्य श्रृङले यहाँ आश्रम बनाई साधना गरेका हुनाले उनै ऋषिको नामबाट रेसुङगा नामाकरण भएको हो भन्ने भनाइ पनि छ । यो क्षेत्र मगरात क्षेत्र भएकाले मगर भाषामा रेस भनेको नुहाउनुमा उपसर्ग जोडेर रेसुङगा नामाकरण रहेको हो भन्ने भनाइ पनि छ ।

साथै, श्रीकृष्णले रेसुङामा बसी वाचन गरेको कथा अर्जुनले अर्जुनडाँडामा बसी श्रवण गर्दथे र रुरु क्षेत्रका तपसीहरुको बर्षे आश्रम रेसुङा नै थियो भनेर भनिन्छ ।  महाप्रभु लक्ष्मी नारायणबाट निर्मित पोखरी हिन्दु धर्मावलम्वीहरुका लागि सबै तीर्थ नदीको जल निर्मित पोखरी हो । यस ठाउँमा हरिशयनी, हरिबोधनी एकादशी र साउन महिनाभरी स्नान गर्नेहरुको भीड लाग्छ । पोखरीमा नुहाउनाले पापहरु नष्ट भई पुन्य प्राप्त हुने जनविश्वास रहँदैआएको छ ।