• १९ असार २०८१, बुधबार

आफन्तको सम्झनामा धर्मचौतारा

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), भदौ १ गते । अचेल कुवा खन्ने, चौतारा चिन्ने, पाटीपौवा बनाउने जस्ता कुरा हराउँदै जान थालेका छन् । भएका पाटीपौवा र चौतारा नासिँदै जान थालेका छन् तर बाटोघाटो र चौतारा बनाउने पुरानो धार्मिक परम्परालाई पाउद्वारका गाउँलेले जीवित राखेका छन् । आफन्तको सम्झनामा परिवारका सदस्यले चौतारा चिन्ने गरेका छन् ।  

अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारका स्थानीयवासीले चौतारा बनाउने कार्यलाई मानव सेवा, धर्म तथा परोपकारी कार्यसँग जोडेका छन् । आफन्त तथा परिवारका सदस्यको स्मृतिमा चौतारा बनाउने प्रतिस्पर्धा नै चलेको देख्न सकिन्छ । पाउद्वारदेखि पर्यटकीय स्थल खोप्रा हुँदै खयरलेकसम्म पुग्ने पदमार्गको करिब एक सय स्थानमा चौतारा निर्माण गरिएका छन् । स्थानीय बासिन्दाले पाँच वर्षदेखि यस्तो अभियान सञ्चालन नै गरेका छन् । 

पहिलो पटक खयरलेक पुग्नुभएका बेनी नगरपालिका–६ का भरत केसीले भन्नुभयो, “यस्तो नमुना कार्य अहिलेसम्म देखेकै थिइनँ । आकर्षक चौतारा हेर्दाहेर्दै बाटो काटेको पत्तै नहुने रहेछ । यस्तो कामको अरूले पनि सिको गर्नुपर्ने लाग्यो ।”

पदमार्गको विभिन्न स्थानमा ढुङ्गाले बनाइएका चिटिक्कका चौतारा छन् । प्रत्येक चौतारामा पिउने पानी जडान गरिएको छ । चौतारा हेर्दा नै आकर्षक देखिन्छन् । पाउद्वारदेखि खोप्रासम्मको दूरी तय गर्न पैदल सात घण्टा लाग्छ । प्रत्येक पाँच सय मिटरको दूरीमा आकर्षक चौतारा निर्माण गरिएका छन् । यस्तै खोप्रादेखि खयरलेकसम्मका विभिन्न स्थानमा पनि चौतारा बनाइएका छन् ।  

यस्ता चौतारालाई गाउँलेले धर्मचौतारा नामकरण गरेका छन् । परिवारका सदस्यले बेलाबखतमा यी चौताराको मर्मत सम्भार गर्ने गरेका छन् । ठाउँठाउँमा निर्माण गरिएका चौताराका कारण पदयात्रीलाई बाटो काटेको पत्तै हुँदैन । 

खयरभारानी थानका संरक्षक राजु पुनले करिब चार हजार सात सय मिटर उचाइमा रहेको प्रसिद्ध खयरभारानीको दर्शनका लागि भक्तजनलाई सहज होस् भनेर समुदायको सक्रियतामा चौतारा र पदमार्ग निर्माण अभियान थालिएको बताउनुभयो । “चौताराको सङ्ख्या बर्सेनि थपिँदै गएको छ । स्थानीयले स्वतःस्फूर्त चौतारा निर्माण गर्दै आउनुभएको छ,” उहाँले भन्नुभयो । पाउद्वारका सुरज तिलिजा पुनले बाजेबज्यैको सम्झनामा चौतारा र धाराको व्यवस्था गरिदिएको बताउँदै थप्नुभयो, “हामी पोखरामा बसाइँ सरेका छौँ तर चौताराको मर्मत सम्भार र सरसफाइ गर्न बेलाबखत आइरहन्छौँ ।’’