• १३ साउन २०८१, आइतबार

रुकुमपूर्व प्रहरी भ्यान दुर्घटना

एक प्रहरी जवानको मृत्यु, डीएसपीसहित पाँच घाइते

blog

जयमान बुढा मगर

रुकुमपूर्व, साउन २८ गते । रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिकामा प्रहरीको भ्यान आज शनिबार दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दिउँसो सदरमुकाम रुकुमकोटदेखि पुथाउत्तरगङ्गा गाउँपालिका जानेक्रममा प्रहरीको भ्यान दुर्घटनामा परेको थियो ।  

जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान दुर्घटनामा पर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोल्पा घर भएका प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ । उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लैजानेक्रममा पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

भ्यानमा ६ जना सवारमध्ये पुनसहित ३ जना गम्भीर र ३ जना सामान्य घाइते भएका थिए । घाइतेमध्ये भ्यान चालक प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान सन्तोष बुढाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी, रुकुमपूर्व सशस्त्र प्रहरीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र श्रेष्ठ र प्रहरी जवान इन्द्र घर्ती सामान्य घाइते रहनु भएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । 

घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी सुनुवारले बताउनुभयो । अनुगमन तथा नियमित कामको सिलसिलामा बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट प्रमुख जिल्ला अधिकारीसहितको टोली तकसेरा तर्फ गएको थियो । 

गन्तव्यमा पुग्न केही मिनेटको दूरीमा सो दुर्घटना भएको थियो । दुर्घटना पछि उक्त भ्यान सडकभन्दा झण्डै सय मिटर तल खसेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।