• ८ मंसिर २०८१, शनिबार

युवा भूमिकाको खोजी

blog

युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशका लागि केही गर्ने चाहना पनि अधिक हुन्छ। युवाको विश्वव्यापी रूपमा मान्य हुने एउटै परिभाषा नभए पनि सामान्यतया युवावय अवस्थालाई बाल्यकाल सकिएर वयस्क नहोउन्जेलको उमेरलाई युवाकाल भनेर बुझ्ने गरिन्छ। यस सम्बन्धमा विभिन्न देशले आ–आफ्नै व्याख्या गरेका छन्। नेपाल सरकारको युवा नीति २०७२ मा भने १६ देखि ४० वर्ष समूहकालाई युवा भनेर उल्लेख गरिएको छ। उक्त नीतिका आधारमा हेर्दा नेपालको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत हिस्सा युवाको जनसंख्याले ओगटेको छ। 

नेपालको राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, सामाजिक र आर्थिक अधिकारको पूर्ण उपयोग गर्न वातावरण तयार गरी युवाको सर्वाङ्गीण विकास सशक्तीकरण र युवा उद्यमशीलताका लागि शिक्षा स्वास्थ्य रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न नीतिगत तथा संवैधानिक व्यवस्था छ। राष्ट्र निर्माणका लागि युवाको विकास र सहभागिता अभिवद्धि गर्ने ध्येयले वि.सं. २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको हो। मन्त्रालयको पहलमा वि.सं. २०६७ सालमा राष्ट्रिय युवा नीतिसँगै युवालक्षित कार्यक्रम ल्याइयो। यो नीतिलाई समयसापेक्ष संशोधन गरी ल्याइएको राष्ट्रिय युवा नीति, २०७२ हाल कार्यान्वयनमा छ। युवाको विकास गर्दै राष्ट्रनिर्माणमा उनीहरूको परिचालन गर्न र युवाका विषयहरूमा पैरवी गर्न राष्ट्रिय युवा परिषद, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, राष्ट्रिय खेलकद परिषद् र नेपाल स्काउट पनि क्रियाशील छन् । नेपाल सरकारको युवा नीतिले युवालाई राष्ट्रको शक्ति, अमूल्य सम्पत्ति, अग्रगामी परिवर्तनका वाहक भनेर व्याख्या गरेको छ। संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्, दिगो विकास लक्ष्य र यूथ भिजन २०२५ ले युवाको विकास र सहभागितामा जोड दिएको छ।

विकास निरन्तर चलिरहने प्रक्रिया हो। सामान्यतया विकासलाई कुनै पनि समुदायको र त्यहाँका नागरिकको जीवनमा आईपर्ने समस्या हल गर्दै नागरिक जीवनमा आउने सकारात्मक परिवर्तनका रुपमा व्याख्या गर्ने गरिन्छ। तर, परिवर्तन सहजै आउँदैन। वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिताको आवश्यकता पर्छ। त्यसमध्ये पनि माथि उल्लेख गरिएझैँ सबैभन्दा उर्जाशील र परिवर्तनको चाह राख्ने युवावर्गको सहभागिता महत्वपूर्ण हुन्छ।

लगभग तीन दशक यता विश्वव्यापि रुपमा नै सहभागितामूलक विकास अवाधारणा  स्विकार गरिनुका साथै यसको व्यापक अभ्यास भइरहेको छ। यसले मुलतः कुनै पनि विकास सम्बन्धित समुदायको संस्कृतिको जगमा टेकेर गरिनु पर्दछ र यस्तो विकासको नेतृत्व सम्बन्धित समुदायले नै लिनुपर्छ भन्ने मान्यता राख्दछ। विकासमा सहभागिता भन्नाले आफ्नो समुदायमा कस्तो विकास गर्ने भन्ने निर्णय गर्नेदेखि, निर्णयअनुसार योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने, कार्यान्वयन प्रक्रियाको अनुगमन तथा मूल्याङ्कन गर्ने र विकासको प्रतिफलको उपभोगमा समेत सम्बन्धित नागरिकको सहभागितामा हुनुपर्छ भनेर बुझिन्छ । यस्तो विकासको अवाधारणालाई ‘सहभागितामूलक विकास’ भनेर बुझिन्छ। विकासमा जनसहभागिताको कुरा गर्दा नेपालको कुल जनसंख्याको आधा हिस्सा युवाले ओगट्ने भएकोले उक्त प्रक्रियामा युवाको सहभागिता अपरिहार्य छ। साथै, युवा शारीरिक हिसाबले मात्र सवल नभएर उनीहरूमा सकारात्मक सोच हुने, सिर्जजनात्मक कार्यमा लाग्ने क्षमता हुने र उनीहरूसँग समाज बदल्ने अठोट हुने हुँदा उनीहरूको सहभागिता जरुरी छ। सामुदायिक विकासमा युवाले विभिन्न किसिमका भूमिका खेल्न सक्छन्। युवाकै नेतृत्वबाट सामाजिक, राजनीतिक, आर्थिक तथा प्राविधिक विकास सम्भव हुन्छ। यसका पर्याप्त उदाहरण नेपाल र विश्वका अनेकौं ठाउँमा देख्न पाइन्छ। 

पहिलेको तुलनामा अहिलेका युवा सामुदायिक अभियान र राजनीतिक गतिविधिमा चासो राखी त्यसमा सामेल हुन थालेको देख्न पाइन्छ। नेपालको इतिहास हेर्ने हो भने राणा शासन उन्मूलनका लागि भएको क्रान्ति, पञ्चायती व्यवस्था हटाउनका लागि भएको २०४६ सालको आन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनमा युवाको सक्रिय भूमिका थियो। राणशासनको विरुद्धमा लागी मृत्यु वरण गरेका शहिद गंगालालको उमेर २२ मात्र थियो। त्यतिबेला उनीसँगै देशको लागि थुप्रै युवाले योगदान गरेका थिए। पञ्चायती व्यवस्था विरुद्ध भएको ४६ सालको अभूतपूर्व आन्दोलनमा सक्रिय भूमिका खेल्ने पनि युवा नै थिए र युवाको वलिदानीकै कारण २०६३ सालको आन्दोलन सफल भई नेपालमा गणतन्त्र स्थापना भएको हो। हिजोआज त चियापसलदेखि संसदसम्ममा हुने वहसमा ‘राष्ट्र निर्माणमा युवाको भूमिका’ ले स्थान पाएको छ। पत्रपत्रिकामा पनि यस विषयमाथि पर्याप्त टीकाटिप्पणी हुन थालेका छन् । यसले समाज अनि सिंगो देशको परिवर्तनको लागि निर्णायक भूमिका खेल्ने राजनीतिक प्रक्रियामा युवाको भूमिका भएको थियो र अझै छ भन्ने कुरा बुझ्न सकिन्छ।

सामाजिक विकासमा युवाको भूमिका हरेक गाउँ टोलमा देख्न पाइन्छ। समाजमा सञ्चालन हुने सानातिना विकास निर्माणका कामदेखि पालिका तहमा कार्यक्रम बनाउन, नीति निर्माणका लागि सरकारलाई दबाब दिने काममासमेत युवाको भूमिका देख्न सकिन्छ। वर्तमान अवस्थामा युवाले समुदाय विकासमा स्थानीय सरकारसँगको साझेदारीमा विकासका कार्यक्रम सञ्चालन गर्न सक्ने प्रावधान राखिएको छ। यसै नीतिलाई अनुशरण गर्दै थुप्रै युवा र युवा सङ्लग्न सामाजिक संघसंस्थाले स्थानीय सरकारसँग मिलेर विकासका योजना सञ्चालन गरिरहेका छन्। पालिका तहको योजना तर्जुमा प्रक्रिया हेर्दा बस्ती एवं वडा स्तरीय योजना तर्जुमाका चरणमा युवाको अर्थपूर्ण सहभागिता हुनैपर्ने प्रावधान राखिएका छन्। त्यस्तै, समाजमा विद्यमान कुरीति जस्तै, जातीय भेदभाव, लैङ्गिक भेदभाव, छाउपडी, घरेलु हिंसा जस्ता अवस्थाका विरुद्ध युवा खुलेर बोल्न थालेका छन्। यस्ता विषयलाई समुदाय तहको बहसमा ल्याउने र त्यसको विरुद्धमा बुलन्द आवाज उठाई परिवर्तनको नेतृत्व पनि युवाले नै लिनु पर्दछ।

शैक्षिक र आर्थिक विकासमा पनि युवाको भूमिका महत्वपूर्ण हुन्छ। यसका लागि आवश्यक वातावरण तयार पार्न राज्यले संयोजक र संरक्षकको भूमिका खेल्नुपर्ने हुन्छ। अहिले सरकारले यस विषयमा अपेक्षित जिम्मेवारी पुरा गर्न सकेको छैन। नेपालका युवा विश्वबजारमा पुगेका छन्। बन्दाबन्दी सुरु हुनु अघिसम्म नेपालबाट दैनिक रुपमा १५०० सयको हाराहारीमा युवा अन्य देशको आर्थिक विकासका लागि आफ्नो देश छोडिरहेका छन्। तथ्याङ्कले नेपालका ५० लाखभन्दा बढी युवा नेपालभन्दा बाहिर कार्यरत रहेको देखाउँछ। खाडी मुलुकको भौतिक पूर्वाधार तथा आर्थिक विकासमा ती नेपाली युवाले अर्थपूर्ण योगदान पु-याएका छन्। उनीहरू मलेसिया, कोरियादेखि युरोपका विभिन्न मुलुकमा पुगेका छन्। आफ्नो मुलुकमा रोजगारीको अभावका कारण यहाँका युवा असङ्ख्य समस्या र पीडा सहँदै विभिन्न मुलुकमा कार्यरत छन्। युवाको त्यो उर्जालाई आफ्नै देशको विकासको लागि उपयोग गर्न सकिएको छैन । कोभिड–१९ का कारण विश्वका विभिन्न मुलुकबाट फर्की नेपालमा कृषि, पशुपालन र प्रविधि क्षेत्रमा उल्लेख्य प्रगति गरेका समाचार धेरै सुन्न पाइन्छन्। यो विषयलाई ध्यान दिएर राज्यले छिटोभन्दा छिटो युवामुखी विकासको लागि आवश्यक नीति 

ल्याउनु जरुरी छ।

तथ्याङ्कले पछिल्लो १० वर्षयता १८ देखि २४ वर्ष समूहका दुई लाख युवाले उच्च शिक्षा हासिल गर्न देश छोडेको देखाउँछ। यसले नेपालबाट शिक्षाकै लागि अरवौँ रुपैया वर्षेनी बाहिरिएको देखाउँछ। बाहिर गएकामध्ये धेरैले उतै बस्ने गरेको देखिन्छ भने केही युवा आफ्नै देश फर्की त्यहाँ हासिल गरेका शिक्षा र सीपको उपयोग गर्दै विभिन्न काम अघि बढाइरहेका विषय पढ्न र देख्न पाइएको छ। यसबाहेक कति नेपाली युवा उच्च आय भएका देश, जस्तै अमेरिका, बेलायत, अस्ट्रेलिया, फिनल्याण्डमा विश्वविद्यालयदेखि ठूला कम्पनीमा कार्यरत छन्। त्यस्ता जनशक्तिलाई नेपाल फर्कने माहोल बनाई दक्ष युवाबाट त्यहाँ सिकेका कुरा नेपालमा पनि लागू गरी यहाँको विकासमा टेवा पु-याउन सकिन्छ। 

देशको प्राविधिक विकासमा युवाको योगदान सबैभन्दा बढी छ। अन्य देशको तुलनामा नेपालमा प्राविधिक विकास ढिलो सुरु भए पनि पछिल्लो १० वर्षयता मुलुकमा प्रविधिको विकासले ठूलो फड्को मारेको देख्न पाइन्छ। युवाको नेतृत्वमा आधुनिक प्रविधिलाई कृषि, यातायात तथा भौतिक निर्माण र उद्योगधन्दा क्षेत्रमा जोडी देशको आर्थिक विकासमा हुने लगानी अझै बढाउनुपर्छ। युवा स्वभावैले आधुनिक प्रविधिको प्रयोग गर्न रुचाउँछन् र प्रविधिलाई विभिन्न क्षेत्रमा उपयोग गर्न चाहन्छन्। 

युवा दिवस मनाइरहँदा आजको विश्व व्यवस्थामा युवाको सवाल, अवस्था र आवश्यकताको विषयका साथै नयाँ युगका नयाँ सम्भावनालाई प्रमुख प्राथमिकतामा राखेर सोच्न जरुरी छ। युवासम्बन्धी बहस हुन थाल्नु खुसीको कुरा हो तर युवाले समाजको राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक विकास प्रक्रियामा कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने कोणबाट विमर्श हुनु जरुरी छ। युवाको सक्रिय सहभागितामा राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक र प्राविधिक रूपान्तरण गर्न सकेमा निःसन्देह सम्वृद्ध र समतामूलक समाजको निर्माण हुने निश्चित छ। यसबारेमा समाजका सबै वर्ग, समूहले ध्यान दिनुपर्छ । राज्यले यसको निम्ति आवश्यक नीति निर्माण गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा त यसका लागि सबैभदा बढी विचार गर्नुपर्ने र राज्यलाई आवश्यक दबाब सिर्जना गर्नुपर्ने त युवाले नै हो।